हेटौंडाः बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालीहरु तथा बागमती प्रदेशबासीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले आज बैशाख १ गतेबाट सुरु भएको नयाँ वर्ष २०७९ को सुखद् अवसरमा शुभकामना सन्देश दिनुभएको हो ।
उहाँले नयाँ वर्ष २०७९ मा कोभिडबाट थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न सफल हुने विश्वास लिनु भएको छ । उहाँले देशभित्र आर्थिक क्रियाकलापमा वृद्धि गर्न व्यवस्थित योजनाका साथ समृद्धिको यात्रामा तीनै तहका सरकारले समन्वय र सहकार्यका गर्दै ठोस योजनाका साथ अघि बढनु पर्ने समय आएको बताउनु भएको छ । बागमती प्रदेश सरकारले समृद्ध प्रदेश निर्माण गर्नका लागि अघि बढाएका नीति तथा कार्यक्रमलाई अझ दृढतापूर्वक जनताले महशुस गर्ने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
शुभकामना सन्देश मार्फत् हामी बिचको सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र जनअपेक्षा अनुरुप तीनै तहका सरकार सञ्चालन गर्दै नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षा राख्नुभएको छ । उहाँले सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि र खुशीको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त दिनुभएको छ ।