हेटौंडाः हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलहरूमा हटिया स्पेर्टस् र विजय युथ क्लव विजयी भएका छन् भने न्यू डाँफे र मदनभण्डारी स्पोटस् एकेडमीको खेल स्थगित भएको छ ।
खेलको दोस्रो हाफ चलिरहँदा उज्यालोमा समस्या आएपछि खेल स्थगित गरिएको हो । खेलमा न्यु डाँफे २–० गोलअन्तरले अगाडि रहेको छ । न्यु डाँफेका ऋषिराम मोक्तान र विशाल ब्लोनले एकएक गोल गरेका छन् । खेल आज बिहान ७ बजे हुने आयोजकले जनाएको छ । यस्तै मंगलबार बिहान भएको खेलमा हटिया स्पोर्टस एकेडेमी विजयी भएको छ । निर्धारित समय १–१ गोलको बराबरी भएपछि पेनाल्टीमार्फत नतीजा निकालिएको हो । पेनाल्टीमा हटियाले ५–४ गोलअन्तरले जीत हासिल गरेको हो । हटियाका गोलरक्षकले एक बल बचाएपछि जीत निक्लिएको हो । म्यान अफ द म्याच हटियाका आयुर घलान घोषित भए । यस्तै अर्को खेलमा एफसी विजय युथ क्लब विजयी भएको छ । निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा एफसी विजय युथ ५–४ गोलअन्तरले विजयी भएको छ ।
निर्धारित समयमा हाँडीखोलाका लागि सुलभ बुढाथोकीले १५ औं मिनेटमा र सुमन राईले ४१ औं मिनेटमा गोल गरेको थियो भने एफसी विजय युथका लागि सुरज विष्टले खेलको ३५ औं मिनेटमा पेनाल्टीमार्फत र ४८ औं मिनेटमा ध्रुव श्रेष्ठले गोल गरेका थिए । हाँडीखोलाले दुईपटकको अग्रता जोगाउन नसक्दा खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।