हेटौंडाः ३ नम्बर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले नेकपाको सरकारको काण्डै काण्डले मुलुक बर्बाद भएको र अर्थतन्त्र ध्वस्त भएको आरोप लगाउनुभएको छ । नेपाली कांगे्रस मकवानपुरले मंगलबार हेटौंडामा गरेको बिरोध सभामा नेता बानियाँले दुईतिहाईको नेकपा सरकार पुर्णरुपमा भ्रष्टाचारमा फसेको दावी गर्नुभयो । सरकारको कार्यकाल २ वर्ष पुग्नै लाग्दासम्म पनि जनताले शान्ति, सुरक्षा र सुव्यवस्थाको महसुस गर्न नपाएको नेता बानियाँको भनाइ छ ।
व्यवस्था परिवर्तन भए पनि कम्युनिष्टले गर्दा जनताको जनजीवन कत्ति पनि परिवर्तन नभएको भन्दै नेता बानियाँले प्रदेश सरकारले केन्द्रले जता भन्यो त्यतै जानुले अहिलेसम्म प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न नसकेको जीकिर गर्नुभयो । प्रदेश सरकारका काम लजास्पद भएको भन्दै प्रदेश सरकारको गतिविधि कमजोर भएको आरोप लगाउनुभयो ।
सभामा प्रदेश सांसद गीता वाग्लेले वर्तमान सरकारले जनतालाई उखान टुक्काले झुक्याइरहेको बताउँदै सरकारी पक्षबाटै राष्ट्रिय जनावर गाईको मासु बेच्न प्रचार प्रसार भैरहेको प्रति आपत्ति जनाउ“दै बलात्कारीलाई मृत्युदण्ड हुनुपर्ने बिधेयक संसदबाट पास हुनुपर्ने बताउनुभयो । अर्का सांसद पे्रमचन्द्र दाहालले नेपालि जनताले सरकारबाट गरेको आशा निरासामा परिणत भएको भन्दै विरोध कार्यक्रम नेपाली जनताको रहेको बताउनुभयो । सांसद दाहालले नेपाली कांगे्रस विचारले स्वतन्त्र भएको ठोकुवा गर्दै कम्युनिष्टले जसरी तोडफोड नगर्ने भन्दै वर्तमान सरकार कमाउने धन्दामा डुबेको बताउनुभयो ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाले सरकारले जनतालाई न्याय होइन अन्याय, सुःख होइन दुःख दिइरहेको बताउनुभएको छ । नेपाली कांगे्रस मकवानपुरका उपसभापति बिष्णुप्रसाद लामिछानेले कांगे्रस नेकपाको अधिनायकवादसँग नझुक्ने अठोट गरेको बताउनुभयो । भदौ २१ गतेबाट सुरु भएको दोस्रो चरणको कार्यक्रम मंगलबारबाट समापन भएको छ । राष्ट्रिय अखण्डतालाई बलियो बनाउन तथा भ्रष्टाचार र कुशासनको विरुद्धमा जनतालाई सचेत तुल्याई विधिको शासन स्थापित गराउन प्रदर्शन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ । कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको बैठकले दोश्रो जागरण अभियान समापनको दिन असोज ७ गते विशेष ५ मुद्दामा केन्द्रित रहेर विरोध गर्ने निर्णय गरेको थियो । कांग्रेसले देशव्यापीरुपमा बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको सन्दर्भ पारेर भदौ २४ गतेबाट दोश्रो जनजागरण अभियान सुरु गरेको १५ औं दिन देशैभर एकसाथ समापन गर्ने कार्यक्रम गर्न लागेको हो ।