हेटौँडा : हेटौँडा–६ स्थित गौरीटार रंगशाला परिसरमा क्रिकेट रंगशाला निर्माण पूरा भएको छ । दुई वर्ष अगाडि निर्माण सुरु गरिएको रंगशाला यहि बैशाख महिनामा सम्पन्न भएको हो ।

मकवानपुर क्रिकेट संघका सचिव विनोदकुमार बानियाँका अनुसार रंगशालामा १ हजार दर्शक अट्ने प्यारापिट, ग्राउन्ड लक स्प्रिङ्ग, ५ वटा क्रिकेट पिच, ड्रेसिङ रुम, व्यवस्थित शौचालय, मिडिया रुमलगायतका संरचनाहरु निर्माण भइसकेका छन् । क्रिकेट मैदान निर्माणका लागि एसएसपी–एचकेसी जेभीले ११ करोड ७४ लाखमा निर्माणको ठेक्का पाएको थियो । उक्त कम्पनीले २०८२ असार मसान्तसम्म रंगशालामा ६ हजार भीआईपी अट्ने प्यारापिट, ग्राउन्ड लक स्प्रिङ्ग, ५ वटा क्रिकेट पिच, स्कोर बोर्डलगायत फिनिसिङका कामहरु सकिने गरी ठेक्का पाएका थिए ।

२०८१ साल बैशाख २४ गते बागमती प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रंगशालाको शिलान्याश गर्नुभएको थियो । सचिव बानियाँका अनुसार बागमती खेलकुद परिषदले एउटा प्रतियोगिता आयोजना गरेर रंगशालाको उद्घाटन गर्ने योजना छ ।

यसैबीच, मकवानपुर क्रिकेट संघले वाइवाइ यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०८३ का लागि जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्दैछ । प्रतियोगिता आउँदो जेठ २ गतेदेखि ६ गतेसम्म हेटौँडा–४ स्थित हुप्रचौरमा सञ्चालन हुनेछ । यस वर्ष जिल्लास्तरीय छनोटका लागि ६५ जना खेलाडीले नाम दर्ता गराएका छन् । जसमध्ये केही नयाँ र केही पहिला छनोट प्रतियोगिता खेलिसकेका खेलाडीहरु रहेको सचिव बानियाँले बताउनुभयो ।

छनोटका लागि नाम दर्ता गराएका खेलाडीहरुलाई ५ वटा टिममा विभाजन गरिएको छ । प्रत्येक टिमले एकअर्कासँग एकदिवसीय अभ्यास खेल्नेछ । अभ्यास खेलको प्रदर्शनका आधारमा सुरुमा २२ जना खेलाडीलाई छनोट गरिनेछ । मकवानपुर जिल्लाबाट बागमती प्रदेशको यु–१९ को टोलीमा प्रत्येक वर्ष ३–४ खेलाडी छनोट हुने गरेको उहाँले बताउनुभयो । सन् २०१२ मा अस्ट्रेलियमा भएको यु–१९ वल्र्डकपमा मकवानपुरका रामनरेश गिरीले नेपाल यु–१९ को टिमबाट खेलेका थिए ।