हेटौंडाः मकवानपुर प्रहरीले चलाएको गोली लागेर एकजना गाँजा तस्कर घाइते भएका छन् । सोमबार राति ना ६ ख १३१ नम्बरको ट्रकमा हेटौंडा हुँदै वीरगञ्जतर्फ गाँजा लैजाँदै गर्दा प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा भाग्न खोजेपछि चलाएको गोली लागेर ट्रक चालक अफ्रिका चौधरी घाइते भएको हुन् । हेटौंडा–१५, रातोमोटेमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त ट्रकको सुरक्षाजाँच गर्दा पर्सा जिल्ला वीरगञ्ज–२९ का ३५ वर्षीय चौधरीले प्रहरी जवानसहित ट्रक चलाएर अपहरण शैलीमा भाग्न खोजेपछि प्रहरीले उनलाई पछ्याएको थियो । प्रहरीका अनुसार चालकको साथमा रहेका अर्का एक व्यक्ति भने फरार छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी जवान समेत घाइते भएका छन् । उनीहरुको साथबाट १४ पोकामा ७८ केजी आठ सय ग्राम गाँजा नियन्त्रणमा लिइएको सिंहले जानकारी दिनुभयो ।