हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज आईतबार ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लब र सर्लाहीको बागमती युथ क्लब भिड्दैछ । चर्च ब्वाइज सातौँ संस्करणको उपाधि विजेता टोली हो ।

बागमती युथले जारी प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो । प्रतियोगिताको सबै खेलहरु बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा दिउँसो ३ः३० बजेदेखि सञ्चालन भइरहेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागिता रहेको छ ।