सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा आवेदन दिन आउनेको भीड ।

हेटौंडाः मकवानपुर जिल्लामा म्यादी प्रहरीमा भर्ना तथा छनौट परीक्षा अन्तर्गत चैत २० गते आईतबार भएको लिखित परीक्षामा १ हजार ८ सय ४७ जना परिक्षार्थी उत्तीर्ण भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज म्यादी प्रहरीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लामा म्यादी प्रहरी भर्ना छनौट गरिएको हो । म्यादी प्रहरीको लागि ३ हजार ७ सय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका थिए । म्यादी प्रहरीमा २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएके छ । स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लामा १ हजार ३ सय २२ जना म्यादी प्रहरी आवश्यक पर्नेछ । म्यादी प्रहरीहरुको चैत २८ गतेबाट तालिम सुरु हुनेछ । ४० दिन काम गर्ने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोशाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचनस्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।