रेजा विष्ट कक्षा ९, नवोदय शिशु सदन

शिक्षा नै जीवनको ज्योति
शिक्षा नभई पाइँदैन ज्ञानको मोति

हालको अवस्थामा हामीले पैसा नै सबैकुरा होइन भन्ने कुरा थाहा पाउनु जरुरी छ । तर यो भनाई सँगसँगै बुझ्नुपर्ने यो पनि हो कि पैसा बिना कुनै कुरा हाँसिल गर्न पनि सकिँदैन नि । यस्तै यस्तै फरक विचारहरुमध्ये आफ्ना निम्ति सही गलतको अन्तर पहिल्याउन सक्ने क्षमताको विकास गर्नु शिक्षा हो । शिक्षासँगै जोडिएर आउने शब्द गुरु अर्थात् ती व्यक्ति जसले विद्यार्थीको पठन पठनलाई सहजीकरण गर्ने भूमिका खेल्छन् ।

गुरको अर्थमा कुनै व्यक्तिलाई मात्र समेटिएको हुँदैन । समेटिएका हुन्छन् दीर्घकालीन अनुभव, प्रतीज्ञा, माया, त्याग र अरु थुप्रै गुणहरु । गुरुको यस्ता विशेषताले विद्यार्थीको जीवनलाई सरल पार्ने काम गर्दछ । गुरुको शिक्षाको महत्व विद्यार्थीको जीवनमा अतुलनीय हुन्छ । जीवनका अप्ठ्यारो ओरालोहरुमा गलत पक्षलाई इन्कारी सही पक्षपात गर्ने प्रेरणा गुरुबाट पाइन्छ । इतिहासको गाथाले समेत गुरुको महत्वलाई मनन गरेको छ । आज नाम चलेका इतिहासका सम्पूर्ण चर्चित व्यक्तिहरुले आफ्नो गुरु प्रति अमीर आस्था र विश्वास राखेका छन् । समयको त्यो काल खण्डमा आफ्नो गुरुको महत्व बुझ्ने सिपाहीदेखि भारदारसम्म मनुष्यदेखि देवतासम्मको कथाले गुरुको महिमाको वास्तविक उदाहरण पेश गरेको छ ।

त्यतिमात्र नभएर कुनै महान् व्यक्तिको भनाई अनुसार कुनै राष्ट्रको विनाशका निम्ति परमाणु हतियार वा बलियो शस्त्रको आवश्यकता पर्दैन केवल त्यो राष्ट्रको शैक्षिक प्रणालीलाई टुक्राई दिए पुग्छ । भनाई अर्थप्रष्ट पार्दा, असल गुरुबाट शिक्षा लिनबाट विद्यार्थी विफल भए पनि यो राष्ट्रका नागरिकले सास्ती पाउने छैनन् । राम्रो शिक्षा हासिल गर्न नसकेका डाक्टरले बिरामीको जीवन बर्बाद गर्नेछन् । त्यतिमात्र नभएर गुरुको महत्व नबुझ्ने विद्यार्थीले जीवनमा सफलता पाउनु निकै कठिन चुनौति हो । 

अन्ततः हाम्रा नाना थरी किचकिच सहेर हाम्रो भाविष्य उज्ज्वल पार्न खटेका सम्पूर्ण गुरुवर्ग प्रति हामी आभारी र नतमस्तक हुनुपर्छ । गुरुको त्याग र शिक्षालाई कहिल्यै बिर्सनु हुँदैन । समयले जस्तै अवस्था ल्याएपनि गुरुको आदर र सन्देशलाई मनन गर्दै जीवनमा अगाडि बढ्नुपर्छ ।