बासुदेव बहुउद्देश्यीय व्यापारिक भवनको हेटौंडा उपमहानगरपालिकाको मेयर हरि बहादुर महतले शिलान्यास गर्दै ।


हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४ हुप्राचौरमा रहेको बासुदेव सभागृह भत्काएर व्यापारिक भवनको शिलान्यास गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बासुदेव बहुउद्देश्यीय व्यापारिक भवनको आज शिलान्यास गर्नुभएको हो ।

व्यापारिक भवनको मेयर महतले विधिवत् पुजापाठ गरी शिलान्यास गर्नुभएको छ । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावर समेत रहनेछ । उचाई ५७ मिटर रहेको भवनमा ४ वटा लिफ्ट राखिने बताईएको छ । पार्किङको लागि जमिन मुनि दुई तला रहने छ । जसमा एक सय वटा मोटरसाइकल र ४० ओेटा कार पार्किङ गर्न सकिने छ । डिसेम्बर ६, २०२१ मा भवन निर्माणको सम्झौता भएको भवनको निर्माण अवधि ३ वर्ष रहेको छ । निर्माणको लागि बानियाँ कम्पनिले ठेक्का लिएको छ ।

शिलान्यास कार्याक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण पश्चात् नगरको आर्थिक वृद्वि हुने बताउनुभयो । उहाँले निर्वाचित हुनु पूर्व घोषणा पत्रमा उल्लेख नभएका कामहरु क्याम्पा रंगशालाको निमार्ण, अक्सिजन प्लान्टको निर्माण र हेटौंडा अस्पतालमा डाइलोसिसको सुरुवात पनि नगरपालिकाबाट भएको बताउनुभयो ।

हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का लगायत हेटौंडा उपमहानगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।