तस्बिरः गुगल

हेटौंडाः चालु आर्थिक वर्ष २०७८/०८९ को फागुनसम्म मकवानपुरमा १ सय ८७ जना विभिन्न प्रकारका लैंगिक हिंसाबाट पीडित बनेका छन् । लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र मकवानपुरको विवरणअनुसार यस अवधिमा जबरजस्ती करणीबाट पीडित हुने महिलाको संख्या ३५ जना रहेको छ ।

यसैगरी, यौनजन्य हिंसाबाट पीडित हुने ६ जना र शारीरिक हिंसाबाट पीडित हुने ५८ जना रहेका छन् । जबरजस्ती विवाह र बेचबिखनमा पर्नेको संख्या १७ जना रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । जसमा १५ जना जबरजस्ती बालविवाह र २ जना बेचविखनमा परेका हुन् । बेचविखनमा पर्ने दुुईजना १६ देखि १८ वर्ष उमेरका रहेका छन् । बालविवाह हुनेमा १८ वर्षमुनिका किशोरी रहेका छन् ।

घरेलु हिंसाबाट पीडित हुनेमा २९ जना महिला तथा बालबालिका रहेका छन् । ४२ जना विविध हिंसाबाट पीडित बनेका लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र मकवानपुरले जनाएको छ । यस्तै, हिंसामा पर्नेमा ७९ जना मकवानपुरको ८ वटा गाउँपालिकाका रहेका छन् भने ९८ जना थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हिंसामा पर्नेहरु १० जना अन्य जिल्लाको रहेको व्यवस्थापन केन्द्रले जनाएको छ ।

अञ्जना तामाङ