मंगलबार विश्वभर पानी दिवस मनाइएको छ । हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाइन्छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस भनेर घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । विश्व पानी दिवसले पानीको संरक्षण र महत्वलाई बुझाउन तथा समुदायमा चेतना बढाउन सहयोगी हुने विश्वास गरिएको छ । विश्व पानी दिवसकै भोलिपल्ट अर्थात् मार्च २३ मा विश्व मौसम दिवस पनि मनाइन्छ । संयुक्त राष्ट्रसंघको एक अभिन्न अंगको रुपमा विश्व मौसम संगठन स्थापना भएको दिन अर्थात् मार्च २३ को स्मरणमा सन् १९६१ देखि विश्व मौसम दिवस मनाउन सुरु गरिएको हो । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवस तथा मार्च २३ मा मनाइने विश्व मौसम दिवस नेपालमा भने सँगसँगै मनाउने गरिन्छ ।

कुनै पनि दिवस मनाउने क्रममा हरेक वर्ष एउटा समसामयिक नारा तय गरिन्छ । विश्व पानी दिवस २०२२ को नारा ‘भूमिगत पानीः अदृश्यलाई दृश्यगत बनाउने’ रहेको छ । अदृश्यरुपमा रहने भूमिगत पानीको महत्वलाई यो नाराले उजागर गर्न खोजेको छ । जलवायु परिवर्तन र पृथ्वीको सतहमा भइरहेको जथाभावी उत्खनन कार्यले भूमिगत पानीको स्रोत बिग्रँदै गएको अवस्थामा यो नाराको सार्थकता देखिएको छ । तीव्ररुपमा भइरहेको सडक विस्तार, खनिज तथा नदीजन्य पदार्थको जथाभावी उत्खननका कारण वनजंगल, सिमसार र चिस्यानयुक्त ठाउँको विनाश भएपछि भूमिगत पानीका मुहान सुक्दै जान थालेका छन् । नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिए पनि विगत केही वर्षयता देशका शहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण भेगमा समेत खानेपानीको समस्या उत्पन्न भइरहेको छ । विगतमा जताततै भेटिने भूमिगत पानीका मुहान सुक्दै जाँदा पानी दिवसको सान्दर्भिकता पनि बढ्दै गएको पाइन्छ ।

मौसममा देखिएको प्रतिकूलतालाई बोध गरी मौसमलाई बिग्रन नदिनका लागि मौसम दिवस मनाउनुपर्ने आवश्यकता देखिएको छ । जलवायु परिवर्तनका कारण मौसमजन्य प्रतिकूल घटनाहरु बढ्दै गएका छन् । हाम्रो समग्र मनसुन प्रणालीमा परिवर्तन आएको छ । तापक्रमको वृद्धिले हिमालका हिउँ पग्लने क्रम बढेको छ । हिमनदीहरुमा पानीको बहाव घट्न थालेको छ । हिमतालहरुको आकार बढ्दै गएर विस्फोटनको जोखिम बढिरहेको छ । बढ्दो शहरीकरण र जनसंख्या वृद्धिका कारण वातावरण र मौसमा परेको प्रभाव तथा रोकथामका लागि गर्न सकिने उपायबारे जनचेतना जगाउन यो दिवस सार्थक बन्नुपर्छ । मौसममा आउने प्रतिकूलता र त्यसबाट हुनसक्ने सम्भावित नोक्सानीलाई समयमै सबैको पहुँचमा पु¥याएर सचेत बनाउन मौसम दिवसलाई व्यापकरुपमा मनाउनु आवश्यक बनेको छ ।

कुनै पनि दिवस मनाउनुको अभिप्राय त्यसको महत्वलाई उजागर गर्नु हो । दिवस मनाउने क्रममा त्यसबाट प्राप्त हुने सुखानुभूतिलाई स्मरण गर्नु आवश्यक हुन्छ । तर, अचेल विश्वमा धेरै विपरीत कुराहरु भइरहेका छन् । आज बिग्रेको कुरालाई पनि स्मरण गर्नुपर्ने बेला आएको छ, जसले त्यसलाई अझ बिग्रनबाट रोक्न सक्ने आशा गर्न सकिन्छ । पानी तथा मौसम दिवस मनाउने ध्येय पनि त्यही हो । मानिसले आफ्नो स्वार्थका लागि वनजंगलको विनाश गरेर पर्यावरणीय सन्तुलन बिगारिरहेको छ । यसले भूमिगत जलभण्डार रित्तिने क्रम बढ्दो छ भने पृथ्वी तात्दै गएको छ । आफ्नो सुविधा र स्वार्थका कारण मानिस मौसमलाई प्रतिकूल बनाउन सक्रिय भइरहेको हुँदा यसबाट आइपर्ने नकारात्मक असर न्यूनीकरण गर्न यस्ता दिवस उत्तिकै सान्दर्भिक बन्नुपर्छ ।