हेटौंडाः गर्मी मौसम सुरु भएसँगै हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको चाप भने बढेको छ । आइतबार एकैदिन हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउनेको संख्या ६ सय २७ पुगेको छ । आइतबार इमर्जेन्सीमा १ सय ३८ जनाले स्वास्थ्य सेवा लिएका थिए भने बहिरंग (ओपीडी) मा ४ सय ८९ जनाले स्वास्थ्य परीक्षण गराएका हेटौंडा अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिनुभएको छ ।
गर्मी मौसम सुरु भएसँगै स्वास्थ्य परीक्षण गराउन आउनेको संख्या बढ्न थालेको उल्लेख गर्नुहुँदै हेटौंडा अस्पतालका जनरल फिजिसियन डा. कमल दवाडी दीर्घरोगी तथा स्वास्थ्य बीमा गरेका नागरिक स्वास्थ्य परीक्षण गराउन आउने क्रम बढेको बताउनुहुन्छ । ‘गर्मी बढेसँगै धुलो धुवाँका कारण स्वास्थ्य परीक्षण गराउन आउनेमा एलर्जीका समस्या देखिएका छन्’, ‘गर्मी क्रमशः बढ्दै जाँदा स्वास्थ्य परीक्षण गराउन आउनेको संख्या अझै बढ्ने छ ।’

गर्मी मौसममा सरसफाईको कमिका कारण सरुवा रोगका विरामी स्वास्थ्य परीक्षण गराउन आउने क्रम बढ्ने डा. दवाडीको भनाइ छ । लामखुटेका कारण हुने डेंगु तथा स्क्रब टाइफसको संक्रमण पनि बढ्न सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । डा. दवाडीले सर्वसाधारणलाई सरसफाईमा ध्यान दिने, लामखुट्टेबाट बच्न आग्रह गर्नुभएको छ ।
यस्तै हेटौंडा अस्पतालका बालस्वास्थ्य विशेषज्ञ डा. राजु सेढाई बालबालिकामा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइडका समस्या लिएर स्वास्थ्य परीक्षण गराउन आउने क्रम बढेको बताउनुहुन्छ । एक साताअघिसम्म हेटौंडा अस्पतालको बहिरंग सेवामा दैनिक औसत २५ बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरिएकोमा अहिले ५० भन्दा बढीको संख्यामा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नु पर्ने अवस्था रहेको डा. सेढाईले बताउनुभयो ।

गर्मी बढेसँगै खानपिनमा ध्यान दिनुपर्ने डा. सेढाईको सुझाव छ । खानेकुरा छिट्टै सड्ने भएकोले चिसो मौसममा जस्तो खानपिन गर्नाले समस्या हुने उहाँको भनाइ छ । डा. सेढाईको सुझाव छ, ‘सरसफाईमा ध्यान दिनु पर्यो । पानी उमालेर खाने गरियो भने स्वास्थ्य समस्या न्यून गर्न सकिन्छ ।’











