प्रशिक्षणमा सहभागी कांग्रेस बागमती प्रदेश समितिका पदाधिकारीहरु ।

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण सकिएको छ । आसन्न स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’अभियान अन्तर्गत कांग्रेस बागमती प्रदेश समितिले प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसिसिको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा र कांग्रेसका प्रशिक्षक रामबहादुर लामाले प्रशिक्षण दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो । सभापति बानियाँले एमसिसि बारे कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा कांग्रेसको विचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लाग्नुपर्ने बताउनुभयो ।

सभापति बानियाँले प्रशिक्षणबाट सिकेको कुरा आफू प्रतिनिधि भएको जिल्लाको टोल–टोलमा गई आउँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न मतदातालाई बुझाउनसमेत निर्देशन दिनुभयो । कांग्रेस बागमती प्रदेशले सोमबार केन्द्रीय सदस्य प्रकाशमान सिंहबाट मूख्य कार्यालय हेटौंडामा उद्घाटन गर्नुका साथै तेश्रो बैठकबाट कोषाध्यक्ष, प्रवक्तासहित विभिन्न समिति र विभागहरुमा संयोजक तोकेको थियो ।