प्रदेश सभा संचालन गर्दै सभामुख सानु कुमार श्रेष्ठ


हेटौंडाः बागमति प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । प्रदेश सभामुख सानु कुमार श्रेष्ठले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गर्नुभएको हो ।

बागमति प्रदेशको आज बसेको बैठकले सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि समितिमा पठाएको छ । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश सभामा प्रस्ताव पेश गर्नुभएको ३ वटा विधेयक दफावार छलफलको लागि समितिमा पठाईएको हो ।

विपद् व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ । यस्तै, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि समितिमा पठाईएको छ । त्यसैगरी, प्रदेश अनुसन्धान व्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि समितिमा पठाएको छ । यस्तै, आजको बैठकको शून्य समयमा ६ जना प्रदेश सभा सदस्यहरुले आफ्नो भनाई राखेका थिए ।