बालबालिकाबीच नै आफूखुसी विवाह गर्ने क्रम बढ्दै गएपछि बालविवाह अन्त्य गर्नु चुनौतीपूर्ण बनेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाबीच आफूखुशी विवाह हुन थालेपछि अहिले बालविवाह न्यूनीकरणको सवाल टड्कारो बन्न थालेको हो । जिल्लाका स्थानीय तहहरुले धमाधम बालमैत्री घोषणा गर्ने क्रम बढ्दै गए पनि बालविवाह नियन्त्रणमा ध्यान दिन सकेको पाइँदैन । बालमैत्री घोषणामा क्रियाशील बनिरहेका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले समुदायमा बढ्दै गएको बालविवाह अन्त्यका लागि प्रभावकारी नीति, योजना तथा कार्यक्रम ल्याउन सकेका छैनन् । बरु बालबालिका आफूखुशी विवाह गरिरहँदासमेत पालिकालाई बालमैत्री घोषणा गरेर कागजी उपलब्धिमा रमाइरहेको देखिन्छ ।

बालविवाहको समस्या नेपालमा बर्षौंदेखि विद्यमान छ । ५–६ दशक अघिसम्म बालविवाह सामान्य मानिन्थ्यो । वि.सं. २०२० सालबाट लागू भएको मुलुकी ऐनले बालविवाहलाई निरुत्साहित गर्न कानुनी व्यवस्था गरेपछि थोरै भए पनि बालविवाह गर्नु हुँदैन भन्ने चेतना जागृत हुन थालेको थियो । विगतमा अभिभावक र बालबालिका सचेत नहुँदा अभिभावककै करकापमा बालविवाह हुने गर्दथ्यो । तर, पछिल्लो समय बालबालिकाकै अपरिपक्व निर्णयबाट बालविवाह भइरहेको छ । मोबाइल फोन र सामाजिक सञ्जालको व्यापक पहुँच र प्रयोगका कारण कम उमेरमै प्रेम सम्बन्ध विकास हुन थालेपछि त्यसले बालविवाहलाई प्रोत्साहन गर्दै आएको छ । जसका कारण बालविवाह बढ्दै गएको मान्न सकिन्छ ।

विद्यालय तहमा अध्ययनरत बालबालिकाबीच प्रेम सम्बन्ध भएर विवाह गर्ने प्रचलन बढ्दै गएको पाइएको छ । सामाजिक सञ्जालमा बालबालिकाको सहज पहुँच भएका कारण सानै उमेरमा विवाह गर्नेको संख्या वृद्वि भएको कतिपय बालबालिकाको भनाइ छ । कोरोना महामारीका कारण विद्यालय बन्द भएको समयमा अनलाइन कक्षा अध्ययन गर्नेक्रममा सबैजसो बालबालिका मोबाइल तथा सामाजिक सञ्जालमा सक्रिय भएका कारण साथीसाथीबीच विवाह गर्ने क्रम बढेको हो । विद्यालय बन्द भएको बेलामा दिन बिताउन सामाजिक सञ्जाल चलाउने गरेका कारण बालबालिकाबीच प्रेम भएर विवाहमा परिणत हुने गरेको पाइएको छ । कतिपय बालिकाले सामाजिक सञ्जालबाट परिचित भएका युवकले प्रेम प्रस्ताव राखेकै भरमा विवाह गर्ने गरेको समेत पाइएको छ ।

औसतमा प्रतिमहिना करिब एक दर्जन बालविवाह बदरका लागि प्रहरी वा बाल हेल्पलाइनमा उजुरी पर्ने गरेको तथ्यले पनि जिल्लामा बालविवाहका घटना वृद्धि हुँदै गएको पुष्टि गर्दछ । जिल्लाको भीमफेदी, बकैया, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकामा बालविवाह गर्नेको संख्या उल्लेख्य रहेको पाइएको छ । बालविवाहकै कारण कम उमेरमा गर्भवती हुनेको संख्या पनि जिल्लामा उल्लेख्य वृद्धि भएको छ । खेल्ने तथा पढ्ने उमेरमा वैवाहिक बन्धनमा बाँधिदा बालअधिकार कुण्ठित हुन्छ । बालबालिकाबीच नै आफूखुसी प्रेमविवाह गर्ने कारण बालविवाह बढ्दै गएको छ । बढ्दो बालविवाहका घटनाले बालबालिकामा नकारात्मक असर पु¥याइरहेको अवस्थामा बालमैत्री घोषणा भइसकेका र घोषणाको क्रममा रहेका स्थानीय तह र सम्बद्ध पदाधिकारी गम्भीर बन्नुपर्ने देखिन्छ । बालमैत्री घोषणा गर्नुअघि र गरिसकेपछि पनि आफ्ना पालिकामा बालविवाह न्यूनीकरणमा सम्बन्धित पालिका चनाखो बन्नु आवश्यक छ ।