व्याण्ड च्याम्पियन नेपालमा द इन्फेरियर व्याण्डको सहभागिताको विषयमा जानकारी गराउँदै ।

हेटौंडाः रियालिटी शो व्याण्ड च्याम्पियन नेपालमा मकवानपुरको व्याण्ड द इन्फेरियरलाई जिताउन मकवानपुरका १० वटा व्याण्ड एकै ठाउँ उभिएका छन् । २ बर्षदेखि जारी व्याण्ड च्याम्पियन नेपालमा सहभागी मकवानपुरको द इन्फेरियर व्याण्ड अहिले उत्कृष्ट १० मा परेको छ । प्रतिस्पर्धी २६ वटा व्याण्डबाट एकैपटक उत्कृष्ट १० को छनोट गरेका आयोजकले बाहिरिएका १६ वटा व्याण्डमध्येबाट २ वटालाई वाइल्ड कार्डमार्फत भित्र्याएर उत्कृष्ट १२ बाट भोटिङ राउण्ड सुरु गर्दैछ ।

भोटिङ राउण्ड सुरु भएपछि नतीजा कलाकारको प्रस्तुतीमा मात्रै निर्भर नहुने भन्दै द इन्फेरियर व्याण्डले भोटिङका लागि अपील समेत गरेको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर इन्फेरियर व्याण्डले जिल्लावासी तथा जिल्लाभन्दा बाहिर तथा विदेशमा रहेका मकवानपुरेलाई भोटिङ चरणमा सहयोगका लागि आग्रह गरेको छ । व्याण्डले भोटिङका लागि प्रचार गर्नकै लागि संग्राम बल लामाको संयोजकत्वमा प्रचारप्रसार समिति समेत बनाएको छ ।

‘हामी मकवानपुरे कलाकारलाई राष्ट्रियस्तरको प्रतिस्पर्धामा सफल बनाउने प्रयासमा छौं’, प्रचारप्रसार समितिका संयोजक संग्राम बल लामाले भन्नुभयो, ‘विशेषगरी युवा पुस्ताको व्याण्ड कलालाई समाजले बुझ्ने र हेर्ने दृष्टिकोण अलि फरक भएकोले पनि हामीले सकारात्मक प्रचारप्रसारको प्रयोग गरी दृष्टिकोणमा समेत सुधार ल्याउने योजनामा छौं ।’ व्याण्डको प्रचारप्रसारका लागि चोकचोकमा कन्सर्ट गर्नुका साथै माइकिङ र मिडियामार्फत पनि प्रचार गर्ने योजना रहेको बताइएको छ ।

एपी वान टिभिमा प्रसारण हुने व्याण्ड प्रतियोगिताको उत्कृष्ट १० मा पर्न सफल द इन्फेरियर व्याण्डमा लिड भोकलिस्टमा राजन थापा, बेस गिटारमा ओर्गेन लामा, लिड गिटारमा विजय लामा र ड्रमरमा अरुण लो रहनुभएको छ । प्रतियोेगिताको विजेताले २० लाख रुपैयाँ नगद प्राप्त गर्नुका साथै अन्तर्राष्ट्रिय भ्रमणको समेत अवसर प्राप्त गर्नेछ । अहिले उत्कृष्ट १० मा मकवानपुरको द इन्फेरियरसहित काठमाडौं उपत्यकाका ५ वटा, २ वटा दार्जिलिङ र सिक्किमका तथा २ वटा अन्य जिल्लाका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!