हेटौंडाः बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट खेलमा घरेलु टोली चितवनलाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको छ । चितवनस्थित निर्माणाधिन गौतमबुद्ध रंगशालामा आइतबार भएको पहिलो सेमीफाइनल खेलमा घरेलु टोली चितवनलाई ८ विकेटले पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर मकवानपुरले पहिले बलिङ गरेको थियो । चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो । जवाफी व्याटिङमा उत्रिएको मकवानपुरले आक्रामक व्याटिङ गर्दै २ विकेटको क्षतिमा १४ ओभरमै लक्ष्य भेट्टायो । मकवानपुरका लागि शुभ कंशाकारले ८४ रनको योगदान गरे । उनी म्यान अफ द म्याच घोषित भए ।
मकवानपुरले उपाधिका लागि भोलि सोमबार धादिङसँग खेल्नेछ । धादिङले काभ्रे जिल्लालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । धादिङ र काभ्रे बीचको सेमीफाइनल खेल पनि आइतबार नै भएको हो ।