हेटौंडाः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको खुल्ला महिला दौड प्रतियोगितामा अमृता मुक्तान प्रथम भएकी छिन् । यस्तै रितिका तिमल्सिना द्वितीय तथा लक्ष्मी थिङ तृतीय भएकी छन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरले मंगलबार बिहान आयोजना गरेको ३ किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ४ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

अमृताले निर्धारित दूरी १२ मिनेट ४३ सेकेण्डमा पार गरिन् भने तिमल्सिनाले १२ मिनेट ५४ सेकेण्ड तथा थिङले १३ मिनेट २३ सेकेण्डमा पार गरिन् । समानताका लागि दौड भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले नगदसहित प्रमाणपत्र, मेडल र खेल सामग्री प्राप्त गरेका छन् ।

हेटौंडा–४, हुप्रचौरको उत्तरगेटबाट शुरु भएकोे दौड शितलमहल चोक, पूर्वीगेट हुँदै पुनः खेलमैदानमा पुगेर टुंगिएको थियो । खेलका गतिविधिमा महिलाहरु पनि पुरुष सरह भाग लिन सक्छन् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरका अध्यक्ष सविन मुक्तानले बताउनु भयो ।