वडाअध्यक्षसँग छलफल गर्दै परिवर्तनका संवाहक किशोरकिशोरी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा परिवर्तनका संवाहकहरुको बैठक शुक्रबार सम्पन्न भएको छ । वडामा बालमैत्री/युवामैत्री बजेट विनियोजन र त्यसको कार्यान्वयनका बारेमा बैठकमा छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय दातृ निकाय प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा ग्रामीण महिला सेवा केन्द्रले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत् बजेट योजनासम्बन्धी तालिम लिएका परिवर्तनका संवाहकहरुबीच बैठक भएको हो । वडा नम्बर १४ मा बालमैत्री/युवामैत्रीसम्बन्धी के कस्ता कार्यक्रम र कति बजेट विनियोजन भइराखेको छ भन्ने विषयमा जानकारी आदानप्रदान गर्न बैठक भएको बताइएको छ ।

बैठकमा परिवर्तनका संवाहकहरुले वडा अध्यक्ष दीपक खड्कालाई बालमैत्री÷युवामैत्री कार्यक्रमबाहेक अरु कार्यमा (बाटोघाटोमा) बढी बजेट विनियोजन गरिएको गुनासो राखेका थिए । बालमैत्री/युवामैत्री कार्यक्रमबारे कसैले चासो नदेखाएकाले बजेट विनियोजन र कार्यक्रमहरु सञ्चालन नगरेको अध्यक्ष खड्काले बताउनुभएको महिला सेवा केन्द्रकी सामाजिक परिचालिका सरस्वती योञ्जनले जानकारी दिनुभयो । बालमैत्री/युवामैत्री सम्बन्धी कार्यक्रम गर्न तत्काल आर्थिक वर्ष सकिन लागेका बजेट नपाएको सामाजिक परिचालिका योञ्जनले बताउनुुभयो । ‘मार्च ८ नारी दिवसमा कार्यक्रम आयोजना गर्न वडासँग बजेट माग गरिएको थियो तर वडामा बजेट नभएकाले बजेट पाएनौं’ योञ्जनले बताउनुुभयो ।

बालमैत्री/युवामैत्री प्रभावकारी कार्यक्रम गर्न सबै परिवर्तनका संवाहकलाई व्यक्तिगत ७ हजार रुपैयाँ दिने वडा अध्यक्ष खड्काले प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षदेखि बालमैत्री/युवामैत्री कार्यक्रम सञ्चालनका लागि वडाले बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएको सामाजिक परिचालिका योञ्जनले बताउनुुभयो । वडा कार्यालयको बजेटबाट नारी दिवसको अवसरमा आज मंगलबार वडाभित्रका ४ वटा विद्यालयको सहभागितामा महिला हिंसाविरुद्धको विषयमा वक्तृत्वकला कार्यक्रम आयोजना हुने उहाँले जानकारी दिनुभयो ।