हेटौंडाः राष्ट्रिय मानव अधिकार आयोगले देशका सातै प्रदेशमा मानव अधिकार रक्षक सम्बन्धी प्रदेशस्तरीय सम्मेलन आज एकसाथ आयोजना गरेको छ । शुक्रबार हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गर्नुभएको छ । सभापति पदमा रहँदा करागारमा जीवन बिताउनुभएका मुख्यमन्त्री पाण्डेले मानवअधिकार उल्लाङ्घन आफूले पनि महशुस गरेको बताउनुभयो । यसैगरी घरघरमै मानव अधिकार उल्लाङ्घनका घटना हुने गरेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञ अधिकारीले मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन र विश्लेषण गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मानव अधिकारको अवस्थाको अनुगमन, सूचना तथा जानकारी साझा गर्ने, मानव अधिकारको अवस्थाको समिक्षा र अधिकारको अवस्थामा सुधार गर्न सम्मेलन गरिएको स्पष्ट पार्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले मानव अधिकार रक्षकहरुको सुरक्षा, संरक्षण तथा उनीहरुको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोगले सम्मलेन गरिएको बताउनुभयो । मानवअधिकार संरक्षणको क्षेत्रमा क्रियाशील ३० भन्दा बढी संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।