हेटौंडाः हेटौंडा–८ स्थित विकास टोलमा एक भुस गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार साढे ११ बजेबाट लागेको आगो बिहीबार साँझ नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

टीकाप्रसाद कँडेलको भुस गोदाममा आगलागी हुँदा कबिर ५० हजार बोरा भुस जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

आगलागीको खबर प्राप्त हुनासाथ आगलागी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद व्यवस्थापन गुल्म, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुरलगायतका सुरक्षाकर्मी खटिएको थियो । आगलागी नियन्त्रणका लागि हेटौंडा, बारा, चितवनका ५ वटा दमकल प्रयोग गरिएको थियो । जेसीबीले गोदाम भत्काएर आगलागी नियन्त्रणको प्रयाससमेत गरिएको थियो ।