नेपाली कांग्रेस आफूलाई देशको अब्बल प्रजातान्त्रिक दल भएको दावी गर्दछ । तर पार्टी संगठनदेखि सरकार सञ्चालन गर्दा देखाउने व्यवहार जहिले पनि अलोकतान्त्रिक हुँदै आएका छन् । तर उसको एउटा सुन्दर पक्ष भने निर्वाचन देखिएको छ । अन्तरपार्टी निर्वाचन पनि आमनिर्वाचनको झल्को दिने गरी गर्दछ । अन्य दलहरुले पनि कांग्रेसको निर्वाचनको प्रक्रिया सञ्चालन र परिणाम सहजै स्वीकार गर्ने चरित्रलाई अनुशरण गर्न आवश्यक छ । प्यानलसहित निर्वाचनमा जाने, यसका लागि सक्रिय सदस्यता वितरणदेखि नै गुटबन्दी गर्ने, अर्को पक्षलाई निषेध गर्नेजस्ता व्यवहार हुँदा लोकतान्त्रिक चरित्रको दावीमाथि आशंका बढ्छ । तर पार्टी नेतृत्वका लागि हुने निर्वाचन साँँच्चै लोभलाग्दो देखिन्छ । मतदाताको छनौटदेखि नै हुने लोकतान्त्रिक अभ्यासले उसको दावीलाई पुष्टि गरेको छ ।
केन्द्रीय महाधिवेशन भएको करिब दुई महिनापछि मकवानपुरको जिल्ला अधिवेशन भएको छ । केन्द्रीय महाधिवेशन गर्ने समयसम्म १६ जिल्लाको अधिवेशन रोकिएको थियो । यी जिल्लाको अधिवेशन पनि दुई पटक सरेपछि मकवानपुरको अधिवेशन सम्पन्न भएको छ । एससीसी पारित गर्नुपर्ने भएकाले १६ मध्ये केही जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । मकवानपुरबाट संघीय सांसद नभएकाले प्रतिनिधिसभाको बैठकले प्रभाव नपारेको हो । नेतृत्व चयनका लागि भएको निर्वाचनले केन्द्रमा एउटै प्यानलका नेताहरुबीच पनि विवादजस्तै देखियो । केन्द्रमा संस्थापन पक्षका नेताहरुले जिल्लामा दुई प्यानल बनाएका थिए । संस्थापनइतरबाट एक जनामात्र सभापतिका उम्मेदवार हुँदा पनि तेस्रो स्थानमा सीमित हुन पुगेका छन् । यस घटनाले मकवानपुरमा संस्थापन पक्षको पकड निकै बलियो देखाएको छ ।
पहिलो चरणको मतदानमा अध्यक्षका दाबेदारमध्ये संस्थापन पक्षका बुद्ध लामाले ५ सय ९२ मत र आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गर्दा संस्थापनइतरका जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका छन् । कांग्रेसको विधानअनुसार खसेकोमध्ये ५१ प्रतिशत मत ल्याउनैपर्ने भएकाले पहिलो चरणको निर्वाचनबाट कोही पनि निर्वाचित हुन सकेनन् । कांग्रेसले अपनाएको यस्तो विधि लोकतान्त्रिक अभ्यासको निकै उच्चतम् पद्दति मानिन्छ । पहिलो चरणमा विजय हुन नसके पहिलो र दोस्रो बढी मत पाउने उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन गरी अध्यक्ष चयन हुने गर्दछ । पहिलो र दोस्रो मत पाउनेहरुमा संस्थापनकै नेताहरु भएकाले पूर्वसहमतिअनुसार बुद्ध लामा जिल्ला सभापति भएका छन् ।
दोस्रो चरणको निर्वाचनअघि भएको सहमतिअनुसार पहिलो मतभार ल्याउने बुद्ध लामालाई सभापति मान्न आनन्दराम पराजुली सहमत भएपछि मकवानपुरको कांग्रेस सभापतिमा बुद्ध लामा निर्वाचित भएका हुन् । मकवानपुर जनजाति बाहुल्य जिल्ला भएकाले बुद्ध लामा सभापति बन्दै गर्दा संगठन विस्तारमा थप सहयोग पुग्ने नेतृत्वले आँकलन गरेको हुनुपर्दछ । समावेशीताका दृष्टिकोणबाट पनि कांग्रेसको विधान निकै अग्रगामी देखिन्छ । विभिन्न आठ क्लष्टर बनाएर समावेशी बनाउने प्रयासलाई अन्य दलले पनि अनुशरण गर्न आवश्यक छ । उम्मेदवारी दर्तापछि आफू निर्वाचनमै छु भन्दाभन्दै पनि नेतृत्वको हस्तक्षेप हुने अन्य दलहरुले कांग्रेसको निर्वाचन प्रक्रिया, पद्दति तथा परम्परा सिक्नु आवश्यक छ । शासन सञ्चालन, उसले गर्ने शासकीय निर्णय, जनतालाई गर्ने व्यवहार र दिने सेवामा पनि यस्तै सुधार गर्न जरुरी छ । नयाँ नेतृत्वलाई शुभकामना ।