निर्वाचित भएपछि पार्टी कार्यालयमा कांग्रेस मकवानपुरका पदाधिकारीहरु ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना कार्य बुधबार बिहान सकिएको छ । अन्तिम मत परिणामअनुसार पदाधिकारीमा जयराम लामिछाने प्यानलको बाहुल्य छ । ६ जना पदाधिकारीमध्ये जयराम लामिछाने प्यानलका ५ उम्मेदवार विजयी भएका छन् भने एकजना बुद्ध लामा प्यानलका छन् । पदाधिकारीमा सभापतिका आकांक्षी आनन्दराम पराजुली प्यानलका कोही पनि निर्वाचित भएनन् ।

उपसभापतिमा आनन्द कठायत र धर्मराज लामिछाने, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक तथा सहसचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई निर्वाचित भएका छन् । सहसचिवमा विजयी ताराचन्द्र बुद्ध लामा प्यानलका हुन् भने अरु सवै पदाधिकारी जयराम लामिछाने प्यानलका छन् ।

सोमबार भएको मतदानमा कुल १ हजार ७ सय ७५ मत खसेको थियो । बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उपसभापतिमा आनन्द कठायत ६११ मत र धर्मराज लामिछाने ६०६ मतसहित विजयी भए । उपसभापतिका आकांक्षी बुद्ध लामाको प्यानलका गोपीलाल विश्वकर्माले ५४२ मत र रामबाबु बानियाँले ४८७ मत पाएका छन् । आनन्दराम पराजुली प्यानलका भीम लामाले ४६३ मत र रमेश गिरीले ३५३ मत प्राप्त गर्दा प्यानलभन्दा बाहिरका उम्मेदवार चन्द्रबहादुर पौडेलले ८२ मत पाएका छन् ।

सचिव पदमा जयराम लामिछाने प्यानलका भीमसेन महतले ८१३ मत तथा ईश्वरकुमार पाठकले ७३५ मत पाएर विजयी हुँदा बुद्ध लामा प्यानलका अर्जुनप्रसाद चौलागाईले ३९७ तथा प्रदीप कोईरालाले ३६८ मत प्राप्त गरेका छन् । यता आनन्दराम पराजुली प्यानलका मानबहादुर पाटा मगरले २५० र यतिराज सापकोटाले ५४८ मत पाएका छन् ।

यस्तै सहसचिवमा जयराम लामिछानेको प्यानलकी इन्दिरा न्यौपानेले ८५० मत पाएर विजयी हुँदा बुद्ध लामा प्यानलका ताराचन्द्र बजगाईले ५६२ मत प्राप्त गरी विजयी भएका छन् । जयराम लामिछाने प्यानलका रत्न गोलेले ४१४ मत पाउँदा बुद्ध लामाको प्यानलका अर्जुनप्रसाद तिवारीले ३६२ मत प्राप्त गरेका छन् । आनन्दराम पराजुलीको प्यानलका कृष्णप्रसाद दाहालले २६९ मत तथा मिरा स्याङ्तानले ५२० मत पाउँदा प्यानल भन्दा बाहिरबाट उम्मेदवारी दिएका सुमन कार्कीले १२६ मत पाएका छन् ।