हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ४ दिने मन्टेश्वरी तालिम सुरु भएको छ । मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा सोमबारबाट तालिम सुरुभएको हो ।
मकवानपुरगढी गाउँपालिकास्थित बंशगोपाल माविमा तालिमको उद्घाटन गरिएको हो । तालिममा प्रशिक्षक ट्रिजा सुब्बा र उर्मिला धितालले तालिममा सहजीकरण गर्नुहुनेछ । तालिममा ५४ जनाको सहभागिता रहेको छ । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले कसरी शिक्षण गराउने र बालबालिकाहरुलाई विद्यालय आउने अवस्था कसरी बनाउने भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बंशगोपाल माविका प्रधानाध्यापक लिलानाथ ढुङ्गेलले जानकारी दिनुभयो ।
तालिममा ईसिडी तहका सबै महिला शिक्षकहरुको सहभागिता रहेको छ । मकवानपुरगढी गाउँपालिकामा ५४ वटा बालविकास केन्द्रहरु रहेका छन् । ५४ वटै बालविकास केन्द्रहरुका शिक्षकहरुको सहभागिता गराउने लक्ष्य रहेको मकवानपुरगढी गाउँपालिकाका शिक्षा अधिकुत राम बहादुर घलानले जानकारी दिनुभयो । मकवानपुरगढीमा ३९ सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा ६ हजार ६ सय १९ जना विद्यार्थी अध्ययनरत् छन् ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले तालिमको उद्घाटन गर्नुभयो । मकवानपुरगढी गाउँपालिकाको ५ नम्बर वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक जित बहादुर घिमिरेको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाको शिक्षा अधिकृत राम बहादुर घलानको पनि उपस्थिति रहेको थियो ।