हेटौंडाः बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संयोजनमा बागमती प्रदेशका महिला पत्रकारहरुका लागि लेखनवृत्तिसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयहरुमा खोजमुलक समाचार संकलन, लेखन तथा प्रकाशन/प्रसारणका लागि महिला पत्रकारहरुलाई सोमबार अभिमुखीकरण गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको सभाकक्षमा आयोजित एकदिवसीय अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशको १३ जिल्लाका महिला पत्रकारको सहभागिता रहेको थियो । अभिमुखीकरणमा २६ जना महिला पत्रकार सहभागी थिए । प्रदेश सरकारले लेखनवृत्ति उपलब्ध गराएका महिला पत्रकारहरु अभिमुखीकरणमा सहभागी भएका हुन् ।
तालिममा सहभागी हुने पत्रकारले बैशाख मसान्तसम्म ३ वटा फिचर समाचार लेख्नुपर्ने छ । अभिमुखीकरणमा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य संगीता खड्का र हेटौंडाकी पत्रकार सरिता शशीले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणमा सामाजिक विकास मन्त्रालयको महिला बालबालिका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलले महाशाखाले गर्दै आएको कार्य तथा योजनाका बारेमा जानकारी दिनुभएको छ ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तानको उपस्थितिमा भएको अभिमुखीकरणको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटा, उपाध्यक्षद्वय नानीमैया कार्की र रुपेश दुलालको पनि उपस्थिति रहेको थियो ।