डाक्टर धनबहादुर खत्रीको विदाईका क्रममा गाउँपालिकाका एक कर्मचारी ।

हेटौंडाः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाकै पहिलो डाक्टरको विदाई गरिएको छ । राक्सिराङ गाउँपालिकास्थित राक्सिराङ आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. धनबहादुर खत्रीको सरुवा भएसँगै मंगलबार गाउँपालिकाको कार्यालयले डा. खत्रीको विदाई गरेको छ । राक्सिराङ गाउँपालिकाकै पहिलो डाक्टरको रुपमा १३ महिना सेवा गर्नुभएका डा. खत्रीको छिमेकी जिल्ला चितवनको रत्ननगर नगरपालिकास्थित अस्पतालमा सरुवा भएको छ हो ।

नेपाल सरकारको छात्रवृत्ति कोटामा चिकित्सा शास्त्र संकायमा स्नातक तहको अध्ययन पूरा गरी २ वर्षे करार सेवामा रहनुभएका खत्रीको सरुवा भएपछि राक्सिराङ गाउँपालिका डाक्टरबिहिन बनेको छ । राक्सिराङ गाउँपालिकाको स्वास्थ्य सेवाको पूर्वाधार तयार पार्नेदेखि सर्वसाधारणलाई सेवा दिन डा. खत्रीको महत्वपूर्ण भूमिका रहँदै आएको थियो । खत्रीको सरुवा भएसँगै डाक्टरविहिन बनेको गाउँपालिकाले नयाँ मेडिकल अधिकृत (डाक्टर) नियुक्त गर्ने प्रक्रिया भने सुरु गरिसकेको छ ।

डा. खत्रीको सरुवापछि रिक्त रहेको पदमा मेडिकल अधिकृत नियुक्त गर्न फागुन ९ गते सूचना प्रकाशित गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले जानकारी दिनुभएको छ । पालिकामै पहिलो डाक्टरको रुपमा काम गर्नुभएका डा. खत्रीको सेवाकै कारण सर्वसाधारणले स्वास्थ्य सेवाका बारेमा सचेत भएको, डाक्टर खोजेर उपचार गर्न थालेको प्रशासकीय अधिकृत गड्तौलाको भनाइ छ । स्वास्थ्य शिविर नै आयोजना गरेर नागरिकलाई सचेत गराउने काम भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको पहिलो डाक्टरको मंगलबार गाउँपालिकाले भव्य विदाई गरेको छ । गाउँपालिकाको स्वास्थ्य सेवाको आधार बनाउन महत्वपूर्ण भूमिका खेल्ने डा. खत्रीको पारिवारिक समस्यालाई बुझेर बाध्य भई विदाई गर्नुपरेको उल्लेख गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले छिट्टै नयाँ मेडिकल अधिकृत नियुक्त गर्ने बताउनुभयो । करार सेवामा आएका डाक्टरलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नेपाल सरकारले उपलब्ध गराउने तलबबाहेक मासिक थप ५० हजार रुपैयाँ गाउँपालिकाले दिँदै आएको अध्यक्ष मल्लले बताउनुभयो ।

गाउँपालिकामा मेडिकल अधिकृत हुँदा अपाङ्गता भएकाहरुको अपाङ्गताको अवस्था प्रमाणित गर्न सजिलो भएको र अपाङ्गता भएकाहरुले सरकारको सामाजिक सुरक्षा कार्यक्रमबाट लाभ लिन पाएको अध्यक्ष मल्लले उल्लेख गर्नुभयो । आफ्नो घरासयी कामका कारण सरुवा लिन बाध्य भएको उल्लेख गर्नुहुँदै डा. धनबहादुर खत्रीले आफ्नो कार्यकालमा काम गर्न कुनै समस्या नभएको बताउनुभयो । उहाँले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र नागरिक सवैपक्षबाट सहयोग भएकै कारण सहज रुपमा काम गर्न पाएको बताउनुभयो । आफूले नियमित सेवा प्रदान गर्ने अवस्था नभए पनि नयाँ मेडिकल अधिकृत नियुक्तिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि डा. खत्रीले व्यक्त गर्नुभएको छ ।

राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा राक्सिराङ आधारभूत अस्पताल सञ्चालनमा रहेको छ । यस्तै राक्सिराङ गाउँपालिकाले कोभिड–१९ वार्डको रुपमा २६ बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो । उक्त आइसोलेसन सेन्टर अहिले कोभिड–१९ का विरामी नभएकोले अस्पतालकै रुपमा सञ्चालनमा रहेको छ । वर्थिङ सेन्टरसहित गाउँपालिकामा आधारभूत तहको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । राक्सिराङ गाउँपालिकामा १० सैय्याको अस्पताल सञ्चालनका लागि संघीय सरकारले भवन निर्माणको कार्य भइरहेको छ ।