कविता वाचन गर्नुहुँदै ज्योति जंगल ।

हेटौंडाः साहित्य संगम मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा ३ समकक्षी कविका २१ कविता वाचन कार्यक्रम भएको छ । मकवानपुरका निमेष निखिल, मोरङकी ज्योति जंगल र बाग्लुङका भूमिन खड्काले ७/७ वटा कविता वाचन गर्नुभएको थियो ।

निमेषले ऐना अगाडि, शोक गीतको पोस्टमार्टम, समय र कवि, सम्बोधनमा मित्र रामविलास, कविताका नाममा, क्रान्ति र सुइकारोक्ति शीर्षकमा कविता वाचन गर्नुभयो । यसैगरी ज्योतिले बादशाहको चुम्बन, देशप्रेमी, आमाहरू, म कसैलाई सम्झिरहेकी किन छु ? लैजानु, काग र सिकाइ शीर्षकको कविता वाचन गर्नुभयो । भूपिनले चोरी एक तुलनात्मक अध्ययन, कुरुप कविता, च्वालिस, २३ औं शताब्दीमा, नोटको जीवनी, ढुंगा र बसुन्धारा शीर्षकमा कविता वाचन गर्नुभयो ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मन्त्री मोक्तानले कविताको माध्यमबाट कसैको जीवनका कथा, देशप्रतिको भाव, आक्रोश र चिन्तनले नै समाज रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो । शनिबारको कार्यक्रमका प्रायोजक हाल अष्ट्रेलियामा रहनुभएका कवि जेनन नेपालले हजुरबुबा र हजुरआमाको स्मृतिमामा २२ हजार २ सय २२ रुपैयाँ राशीको डम्बर–पूर्णमाया कविता पुरस्कारको घोषणा गर्नुभएको छ ।