हेटौंडाः अवैध लागुऔषध १ सय ७३ बोतल डायलेक्स डीसीसहित दुई भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना १ ह ९४५० नम्बरको अटोेचालक भारतको बिहार रक्सौल पुर्वी चम्पारणका ३० वर्षीय अरविन्द कुमार पाण्डे र उक्त अटोमा सवार भारत बिहार रक्सौलका २६ की अमिता साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार दिउँसो १ बजेर ४८ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्ट खण्डमा सवारी साधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको उनीहरु सवार अटोमा लुकाई छिपाई ल्याइएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परका दुवै जनालाई उक्त लागुऔषध, अटोसहित नियन्त्रणमा लिई बुधबार जिल्ला अदालत मकवानपुरबाट १० दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।