लागुऔषधसहित पक्राउ परेका नमोरत्न मानन्धर र अभिषेक मोक्तानलाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौंडाः लागुऔषध ओमरेक्स २० बोतलसहित दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ कमानेका १८ वर्षीय अभिषेक मोक्तान रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका पाँच बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ स्थित एक खाजाघरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागुऔषध ओमरेक्स र २० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरको हो । पक्राउ परेका दुवैजनालाई मंगलबार जिल्ला अदालत मकवानपुरबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।