हेटौंडाः मकवानपुरमा सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा ३५ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा साउन महिनामा ४ जना, भदौमा २ जना, असोजमा ५ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको छ । यस्तै कार्तिक महिनामा १० जना, मंसिरमा ३ जना, पुसमा ४ जना र माघ महिनामा ७ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
माघमा भएका सवारी दुर्घटना सबै मोटरसाइकल दुर्घटना रहेको जनाइएको छ । जिल्लामा साउन महिनादेखि माघ मसान्तसम्म ३ सय ११ सवारी साधन दुर्घटना भएकोमा ८९ जना गम्भीर घाइते भएका छन् । साउनदेखि माघसम्ममा १ सय २० वटा मोटरसाइकल, ३८ वटा जीप र कार, २४ वटा बस दुर्घटना भएका छन् ।
जिल्लामा सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडक साँघुरा रहेको प्रहरीको भनाई छ । दुर्घटनाहरु प्रायः रातिको समयमा हुने गरेको पाइन्छ । टाढाको यात्रा गरिरहेका बसहरु प्रायः दुर्घटना भइरहेको प्रहरीको भनाई छ । सडक छेउछाउमा राखिएका ट्राफिक चिन्हहरु पुरानो भएर नदेखिने र सवारी चालक एकजना मात्र रहनुले पनि दुर्घटना भइरहेको हुनसक्ने प्रहरीको अनुमान छ । खाल्डो भएका सडकहरु बिग्रिएपछि मर्मत नगर्नाले, सवारी चालकहरुको लापरबाही, मादक पदार्थ सेवन गरी गाडी चलाउनाले, गाडीमा ओभरलोड बोक्नाले सडकमा सवारी दुर्घटना बढ्ने गरेको प्रहरीको भनाई छ ।