हेटौंडाः रगत अभाव भइरहेका बेला हेटौंडा इन्फिल्डर्स मकवानपुरको आयोजनामा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । शनिबार बिहान भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । जिल्लामा रगतको अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको हेटौंडा इन्फिल्डर्सका अध्यक्ष दिपेन्द्र चन्द ठकुरीले जानकारी दिनुभयो ।
रक्तसञ्चार केन्द्र हेटौंडामा ए पोजेटिभ र ओ पोजेटिभ रगतको अभाव भइरहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । शनिबार भएको रक्तदान कार्यक्रममा संकलित रगतले अभावको अवस्था न्यूनीकरण हुने सापकोटाको भनाइ छ । हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा डायलासिस सेवा सुरु भएसँगै हेटौंडामा रगतको खपत बढेको छ ।
हेटौंडा इन्फिल्डर्स मकवानपुरले वार्षिक कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा इन्फिल्डर्सले २०७२ सालको भूकम्पपछि मकवानपुरको थाहा नगरपालिकाको आग्रा र बकैया गाउँपालिकाको शिखरपुरमा शैक्षिक सामग्री सहयोग गरेको थियो भने हेटौंडा सामुदायिक आँखा अस्पतालमा ४० वटा वेड सहयोग गरेको छ । यस्तै कोभिड–१९ को संक्रमण न्यून भएर जनजीवन सहज भएसँगै नेपालसहित ५ देशका राइडरको सहभागितामा मकवानपुरमा राइडर्स मिट आयोजना गर्ने तयारी भइरहेको पनि अध्यक्ष ठकुरीले जानकारी दिनुभएको छ ।