हेटौंडाः ‘सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी, हंस वाहन संयुक्ता विद्यादानं करोतु मे ।’ विद्याकी देवी मानिने सरस्वती मातालाई यिनै स्तोत्र वाचन गरेर आज विशेष पूजा गरिँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी श्रीपञ्चमी अर्थात् सरस्वती पूजा आज आइतबार मनाइँदैछ ।
वसन्त पञ्चमीका नामले समेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ ।
आजको दिन विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास पाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी विद्यार्थी, शिक्षक, गायक, संगीतकार, साहित्यकार, कलाकार, पत्रकार आदिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन् ।
पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार विद्याकी देवी सरस्वती मातालाई भारती, हंसवाहिनी, शारदा, सरस्वती, जगन्माता, कौमारी, बागीश्वरी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, भुवनेश्वरी र चन्द्रघण्टा गरी १२ वटा नामले पुकारिन्छ । संस्कार, सभ्यता र संस्कृतिकी प्रेरक सरस्वतीको जन्मदिनका रुपमा श्रीपञ्चमीलाई लिइन्छ ।
पौराणिक धर्मग्रन्थमा भगवान् श्रीकृष्णले सरस्वतीसित खुशी भएर श्रीपञ्चमीका दिन तिम्रो आराधना गरिनेछ भनी वरदान दिएको उल्लेख छ । सेतो वस्त्रले सजिएकी सरस्वती सधैँ मुस्कुराइरहने र प्रत्येक मानव जातिलाई मुस्कुराउन प्रेरित गर्ने जनविश्वास छ ।
आजकै दिनदेखि सूर्य उत्तरतिर लागि दिन लामो हुने विश्वास गरिन्छ । आजकै दिनबाट वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा पनि रहेको छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । श्रीपञ्चमीको दिन जुनसुकै नयाँ कार्यको थालनी गर्दा शुभ हुने मान्यता पनि पाइन्छ । यस दिन बालबालिकाको नाक–कान छेडिदिने कार्य पनि गरिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न सरकारसँग माग गरिँदै आएको छ । राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले विसं २०७० सालदेखि सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन सरकारसँग माग गर्दै आएको हो । महासंघले आफ्नै पहलमा आजका दिन राष्ट्रिय पुस्तक दिवस मनाउँदै पनि आएको छ ।