Home मुख्य समाचार आज सरस्वती पूजा

आज सरस्वती पूजा

हेटौंडाः ‘सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी, हंस वाहन संयुक्ता विद्यादानं करोतु मे ।’ विद्याकी देवी मानिने सरस्वती मातालाई यिनै स्तोत्र वाचन गरेर आज विशेष पूजा गरिँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी श्रीपञ्चमी अर्थात् सरस्वती पूजा आज आइतबार मनाइँदैछ ।
वसन्त पञ्चमीका नामले समेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ ।

आजको दिन विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास पाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी विद्यार्थी, शिक्षक, गायक, संगीतकार, साहित्यकार, कलाकार, पत्रकार आदिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन् ।

पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार विद्याकी देवी सरस्वती मातालाई भारती, हंसवाहिनी, शारदा, सरस्वती, जगन्माता, कौमारी, बागीश्वरी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, भुवनेश्वरी र चन्द्रघण्टा गरी १२ वटा नामले पुकारिन्छ । संस्कार, सभ्यता र संस्कृतिकी प्रेरक सरस्वतीको जन्मदिनका रुपमा श्रीपञ्चमीलाई लिइन्छ ।

पौराणिक धर्मग्रन्थमा भगवान् श्रीकृष्णले सरस्वतीसित खुशी भएर श्रीपञ्चमीका दिन तिम्रो आराधना गरिनेछ भनी वरदान दिएको उल्लेख छ । सेतो वस्त्रले सजिएकी सरस्वती सधैँ मुस्कुराइरहने र प्रत्येक मानव जातिलाई मुस्कुराउन प्रेरित गर्ने जनविश्वास छ ।

आजकै दिनदेखि सूर्य उत्तरतिर लागि दिन लामो हुने विश्वास गरिन्छ । आजकै दिनबाट वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा पनि रहेको छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । श्रीपञ्चमीको दिन जुनसुकै नयाँ कार्यको थालनी गर्दा शुभ हुने मान्यता पनि पाइन्छ । यस दिन बालबालिकाको नाक–कान छेडिदिने कार्य पनि गरिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।

सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न सरकारसँग माग गरिँदै आएको छ । राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले विसं २०७० सालदेखि सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन सरकारसँग माग गर्दै आएको हो । महासंघले आफ्नै पहलमा आजका दिन राष्ट्रिय पुस्तक दिवस मनाउँदै पनि आएको छ ।

Exit mobile version