हेटौंडाः सार्क एजुकेशन फाउण्डेशनले स्वामित्व ग्रहण गरेपछि हेटौंडा–१० स्थित तुल्सीमेहर मेमोरियल स्कूलले प्रि–स्कूल कक्षालाई स्तरीकरण गर्ने जनाएको छ । शिक्षाको आधार बलियो बनाउन विद्यालय तह प्रवेश गर्नुअघि नै बालबालिकालाई सिकाईप्रति आकर्षिक गर्नुपर्ने ठहर गर्दै तुल्सीमेहरले प्रि–स्कूल कक्षाको स्तरीकरण गर्न खोजेको सार्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।
शुक्रबार विद्यालयमै पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालयले आईतबार बसन्त पञ्चमी अर्थात् सरस्वती पुजाको अवसर पारेर अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी विधिमा आधारित प्रि–स्कूल सञ्चालनमा ल्याउने जनाएको छ । ४० जना विद्यार्थीका लागि प्रिस्कूल कक्षा सञ्चालन गर्न लागिएको तुल्सीमेहर मेमोरियल स्कूलका कार्यक्रम निर्देशक किसन बास्तोलाले जानकारी दिनुभयो । क्रियाकलापमा सहभागी गराई गुणस्तरीय सिकाईको अभ्यास गराउने दावी गर्दै त्यसरी विद्यालयमा प्रवेश गर्ने विद्यार्थीमार्फत नै गुणस्तरीय शैक्षिक अवस्था सुनिश्चित हुने सार्क एजुकेशन फाउण्डेशनले दावी गरेको छ ।