हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–३, हाँडीखोलामा सेनेटरी प्याड तथा सिलाई कटाई तालिम सुरु भएको छ । महिला स्वास्थ्यका लागि अत्यावश्यक सेनेटरी प्याड आफैं तयार पारेर प्रयोग गर्न सकिने तथा सिलाई कटाईको कार्य गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको क्लबले जनाएको छ ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता तथा रोटरी क्लब अफका पूर्व एसिस्टेन्ट गभर्नर धिरज कार्कीको प्रमुख आतिथ्यमा शुक्रबार तालिमको उद्घाटन कार्यक्रम भएको छ । दैनिक रुपमा ३ घण्टा हुने तालिममा २७ जना महिलाको सहभागिता रहेको छ । यसअघि रोटरी क्लबले निव्र्याजी लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको हाँडीखोलामा महिलाहरुलाई आयआर्जनका लागि सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिनुभयो ।
लघुवित्त कार्यक्रममा सहभागीहरुले हाँडीखोलामा गठन गरेको रोटरी सामुदायिक संघको संयोजनमा सिलाई कटाई तालिम भएको हो । तालिमको प्रशिक्षक मीरा लुइटेल रहनुभएको छ । मिरा लुइटेललाई रोटरीले नै सेनेटरी प्याड बनाउने तालिम लिन काठमाडौं पठाएर प्रशिक्षक बनाएको हो । सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम यसअघि हेटौंडा–४ र हेटौंडा–१५ गौरिटारमा गत सातादेखि सुरु भइसकेको छ भने आगामी साता हेटौंडा–१४, उत्तरपानीमा आयोजना हुनेछ । तालिम कार्यक्रम संयोजक रोटरी क्लबका निर्वाचित अध्यक्ष सुयश पराजुली रहनुभएको छ ।