अभिभावक भेलामा विद्यालय परिसरमै विद्यार्थीले कला प्रस्तुत गर्दै । विद्यार्थीका प्रस्तुती अभिभावकले घरमै बसेर भर्चुअल माध्यमबाट अवलोकन गरेका थिए ।

हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविले २१ औं स्थापना दिवसको अवसरमा मंगलबार ‘भर्चुअल अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रम’ को आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेको अध्यक्षता एवम् विद्यालयको मातृसंस्था ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जिधराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाश बानियाँको विशिष्ट आतिथ्य रहेको थियो ।

शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी गरी करिब ४५० को संख्यामा सहभागिता रहेको कार्यक्रममा अभिभावकले सुझाव राखेका थिए भने विद्यार्थीले गायन, नृत्यकला प्रस्तुत गर्नुका साथै साहित्यिक रचना प्रस्तुत गरिएको विद्यालयका सहायक प्रिन्सिपल तथा अतिरिक्त क्रियाकलाप प्रमुख दीपक गौतमले जानकारी दिनुभयो ।

अभिभावक भेलामा विद्यालय परिसरमै विद्यार्थीले कला प्रस्तुत गर्दै । विद्यार्थीका प्रस्तुती अभिभावकले घरमै बसेर भर्चुअल माध्यमबाट अवलोकन गरेका थिए ।

विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेले विद्यालय व्यवस्थापन समितिको तर्फबाट शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रतिकूल समयमा पनि अनलाइन कक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई प्रभावकारी अनलाइन कक्षा सञ्चालन गर्न सक्नु, खेलकुद, कला, साहित्यलगायत विविध क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल हुनु, करिब १०० जना थप विद्यार्थी भर्ना गर्नु, शिक्षकलाई सहुलियत किस्ताबन्दीमा संस्थाको समेत लगानीमा ल्यापटप उपलब्ध गराउने क्रमको थालनी हुनु, शैक्षिक सत्र २०७९ देखि लागू हुने गरी कक्षा ११ सञ्चालन गर्ने, बालमैत्री कक्षाकोठाको विकास गर्ने योजनामा विद्यालय रहेको जानकारीसमेत दिनुभयो ।

कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले कम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्न जीएस निकेतन सफल भएको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सञ्चालक समिति अध्यक्ष जिधराज ढकालले विद्यालय स्थापना दिवसको सन्दर्भमा भर्चुअल कार्यक्रम गरिएकाले उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक तथा विभिन्न विधा एवम् क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत तथा सम्मानित गर्न नसकिएको र उपयुक्त समयमा सम्मानित गरिने बताउनुभयो ।

स्थापना दिवसको सन्दर्भ पारेर माघ १५, १६ र १७ गते भर्चुअल रूपमै तहगत अभिभावक अन्तरक्रिया सम्पन्न गरी कोभिड–१९ को तेस्रो लहरका कारण भौतिक उपस्थितिमा अभिभावक दिवस आयोजना गर्न नसकिएकाले भर्चुअल रूपमै भए पनि स्थापना दिवस सफलतापूर्वक सम्पन्न गरिएको प्रिन्सिपल लामिछानेको भनाइ रहेको छ ।