हेटौंडाः सरकारले दूधको मूल्यवृद्धि गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । सरकारले यसअघि प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेको कच्चा दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्ने निर्णय गरेको छ । किसानले पाउने मूल्यवृद्धि गरिएपछि अब कच्चा दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा कायम भएको छ ।
सरकारले किसानले पाउने दूधको मूल्य १३ दशमलब १७ प्रतिशतले वृद्धि गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो । किसानका लागि दूधको मूल्यवृद्धि भए पनि उपभोक्ताले खरिद गर्ने प्रशोधित दूधको मूल्य पनि वृद्धि हुने भएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य दुग्ध विकास संस्थानले निर्धारण गर्दछ । फ्याट र एसएनएफको आधारमा दूधको मूल्यवृद्धि गरिएको बताइएको छ । मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ ।
यता, दूधको मूल्यवृद्धिको माग गर्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले केन्द्रीय दुग्ध सहकारी संघको विज्ञप्तिप्रति ऐक्यवद्धता जाहेर गरेको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले यसअघि सिफारिस भएअनुसार दूधको मूल्यवृद्धिका लागि सरकारलाई दवाव दिने उद्देश्यले विज्ञप्ति जारी गरेको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, प्राइभेट डेरी उद्योग संघ तथा दुग्ध विकास संस्थानसमेतले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न माग गरेको थियो ।
तत्काल दूधको मूल्यवृद्धि नहुने अवस्था सृजना भए संघद्वारा विभिन्न आन्दोलनका कार्यक्रम यथाशीघ्र घोषणा गरिने केन्द्रीय दुग्ध सहकारी संघको विज्ञप्तिप्रति ऐक्यवद्धता जाहेर गरेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष वासुदेव अधिकारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाइएको छ । दूधको मूल्यवृद्धि नहुने हो भने दूधमा आत्मनिर्भर हुने अवस्थाबाट विमुख भई विदेशबाट आयात गर्नुपर्ने मात्र नभई दुग्ध उत्पादनसँग सम्बन्धित पेसा नै धराशायी हुने अवस्था देखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
करिब ३ वर्षदेखि कच्चा दूधको मूल्य वृद्धि नभएको र पशुलाई खुवाउने पराल, दाना, चोकरलगायत औषधीको मूल्य अत्यधिक बढेका कारण पशुपालक किसानहरु मारमा परेको भन्दै दूधको मूल्यवृद्धि गर्न संघले माग गर्दै आएको छ । वर्तमान समयमा कोभिडका कारण पशुपालन पेसा जर्जर अवस्थाामा पुगेको भन्दै दूधको मूल्यवृद्धि गरी कृषकको पेसा टिकाउन संघले आग्रह गरेको छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले जिल्लाभर रहेका ५५ दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध करिब १२ हजार कृषिक परिवारले उत्पादन गर्ने दूध संकलन गरी बिक्री गर्दै आएको छ । संघले दैनिक करिब २७ लाख रुपैयाँको दूध बिक्री गरी शहरको पुँजी गाउँ पुर्याउँदै आएको जनाएको छ ।