हेटौंडाः हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि सोमबार अढाई लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । सोमबार हेटौंडा–५ का बानियाँ परिवार र हेटौंडा–७ का हेमप्रसाद अधिकारी र राजकुमार बानियाँले अढाई लाख रुपैयाँ बराबरको सहयोग गर्नुभएको हो ।
हेटौंडा–५, पिप्लेका स्वर्गीय चेतसिंह बानियाँका छोराहरु राजेश, रमेश र रविन बानियाँले एक लाख २५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । बानियाँ परिवारले स्वर्गीय चेतसिंह बानियाँको वार्षिक तिथिमा सहयोेग रकम हस्तान्तरण गरेको हो । राजेश बानियाँ ५ नम्बर वडा अध्यक्ष तथा पिप्ले युवा क्लबका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । यसअघि पनि बानियाँ परिवारले क्याम्पा रंगशालाका लागि पटक–पटक सहयोग गर्दै आएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।
यस्तै सोमबार नै हेटौंडा–७ निवासी हेमप्रसाद अधिकारी र सावित्री अधिकारीले स्वर्गीय बुबा मेघनाथ अधिकारीको स्मृतिमा ६० हजार रुपैयाँ लागतको एक थान प्लेयर बक्स सहयोग गर्नुभएको छ । हेमप्रसाद घरजग्गा व्यवसायी हुनुहुन्छ भने सावित्री हेटौंडा–५, गर्दोईस्थित लक्ष्मी आधारभूत विद्यालयको शिक्षक हुनुहुन्छ । यसैगरी हेटौंडा–७ निवासी राजकुमार बानियाँले पनि ६० हजार रुपैयाँ लागतको एक थान प्लेयर बक्स सहयोग गर्नुभएको छ ।
हरेक दिन प्राप्त हुने सहयोगबाट क्याम्पा रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । क्याम्पस रंगशालाको निर्माण कार्य पिप्ले युवा क्लबको अग्रसरतामा प्रदेश सरकार, स्थानीय सरकार र आम सर्वसाधारणको सहयोेगमा जारी छ ।