हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाका पालिकाहरुको अनुगमन गर्ने भएको छ । जिसस मकवानपुरको सोमबार सम्पन्न बोर्ड बैठकले अनुगमनमा जाने निर्णय गरेको हो । जिससको मौजदात कोषबाट जिल्लाका विभिन्न पालिकामा सञ्चालित आयोजनाहरुको प्रगतिका विषयमा जानकारी लिने निर्णय पनि गरिएको छ ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको नियमित बोर्ड बैठकले विगतमा भएका निर्णय कार्यान्वयनको समीक्षा समेत गरेको छ । बैठकले विगतमा बोर्डबाट भएका निर्णयहरुको कार्यान्वयनको समिक्षा गर्नुका साथै प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयनलगायत थप समसामयिक विषयमा छलफल गरेको जिसस प्रमुख खुलालले बताउनुभयो । बैठकले यसअघि भएका निर्णयलाई कार्यान्वयनमा लाने सन्दर्भमा कार्यालयलाई निर्देशन समेत गरेको छ ।

यस्तै बैठकले स्थानीय तह समन्वय बैठक र ढुंगा, गीट्टी, बालुवा अनुगमन समितिको बैठकल आयोजना गर्ने, स्थानीय तह स्वमुल्याङकन (लिजा) को रिपोर्ट यथासक्य छिटो पठाउन स्थानीय तहलाई पत्राचार गर्ने साथै लिजा रिपोर्ट सार्वजनिक गर्न सफल जिल्लाको एक मात्र हेटौंडा उपमहानगरपलिकालाई धन्यवाद दिने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, सीता अधिकारी, बुद्धिबहादुर स्याङ्तान, चित्रबहादुर बलामी, गणेश कुमारी प्रधान, सरिता विक, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनिताकुमारी गजुरेललगायतको उपस्थिति रहेको थियो ।