हेटौंडाः लागुऔषध नाइट्रोभेट १ सय १७ ट्याब्लेटसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार हेटौंडाका विभिन्न स्थानबाट लागुऔषध नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

शुक्रबार साँझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ मा सवारीसाधनहरु रोकी सुरक्षाजाँच गर्दा भुटनदेवीमोडतर्फबाट शितलमहल चोकतर्फ जाँदै गरेको गरेको बा २४ प ४५९५ को मोटरसाईकलका चालक हेटौंडा–४ का ३४ वर्षीय अनिल कुमार तामाङलाई नाईट्रोभेट ४८ ट्याब्लेटसहित पक्राउ गरेको हो ।

यस्तै शुक्रबार नै दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ का २३ वर्षीय अनिष तामाङलाई सुरक्षाजाँच गर्दा नाईट्रोभेट ६९ ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत मकवानपुरबाट दिन ५ को म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।