प्रदेश सभा सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धमा शुक्रबार सार्वजनिक गरेको सूचना ।

हेटौंडाः बागमती प्रदेश सभाको दुई वटा समितिको सभापति पदको निर्वाचन माघ १७ गते सोमबार हुने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

गत बैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ । अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहनुभएकोले उहाँहरु निर्वाचनमा सहभागी हुन हुन्न । अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री हुनुभएपछि गत बैशाखदेखि नै सभापति पद रिक्त थियो भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा केही समयअघि मन्त्री नियुक्त हुनुभएपछि सभापति पद रिक्त थियो ।

समितिको सभापति पदको प्रस्ताव भने आइतबार अपरान्ह ५ बजेसम्ममा दर्ता गराउने समय तय गरिएको छ । लागि प्रदेश सभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ ।