ठेला नियन्त्रणमा लिँदै नगर प्रहरी ।

हेटौंडाः बुधबार हेटौंडा—४ स्थित शीतल महलचोकबाट अव्यवस्थितरुपमा व्यवसाय गर्दै आइरहेकी एक महिलालाई नगर प्रहरीले पक्राउ गरेको थियो । धरान घर भई विगत ५ वर्षदेखि हेटौंडामा पानीपुरी तथा चटपटेको व्यवसाय गर्दै आइरहेकी व्यवसायीलाई एक छोरीसहित नियन्त्रणमा लिइएको थियो ।
ठेलासहित एक बालिकालाई पनि नियन्त्रणमा लिनु नगर प्रहरीको ज्यादती भएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट भएका थिए । आफूसहित छोरीलाई पनि नियन्त्रणमा लिएकाले ‘खोई बालअधिकार ?’ भन्दै बालअधिकारकर्मीहरुलाई प्रश्न गरिएको भिडियोमा देख्न सकिन्छ । ती महिलामाथि नगर प्रहरीले गरेको व्यवहारप्रति व्यापक आलचोना भएको छ । सानी छोरीसहित जीविकाका लागि ठेलामा व्यापार गर्दै आएकी महिलालाई जर्बजस्ती गरी ठेला र बालिकालाई समेत नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा नगर प्रहरीको ज्यादती भन्ने भनाईलाई खण्डन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाको सामान्य प्रशासन महाशाखाका प्रमुख रामकृष्ण थापाले नीति नियम सबैका लागि एउटै भएकाले नगर प्रहरीको ज्यादती भन्न नमिल्ने बताउनुभयो । सवारी साधन तथा पैदल यात्रीहरुको आवतजावतसमेत ठप्प गरी ठेलामा व्यवसाय गर्न नमिल्ने थापाको भनाइ छ । शीतल महलचोककै एक स्थानीय बासिन्दाले अव्यवस्थित तरिकाले ठेलामा व्यवसाय गरेको गुनासो आएपछि नगर प्रहरीले उक्त महिलालाई नियन्त्रणमा लिएको बताउनुभयो । सफा तथा सुन्दर नगर राख्नु सबैको दायित्व रहेको बताउनुहुँदै ती महिलाले नैतिक जिम्मेवारीभित्र रहेर नियन्त्रणमा लिइएको दावी गर्नुभयो ।

कतिपय ठेलाहरु घुमन्ते बन्दा सडकमा फोहोर गरी शहरलाई नै अव्यवस्थित बनाउने गरेकाले नियन्त्रणमा लिने गरेको बताइएको छ । सामाजिक सञ्जाल टिकटकमा पोस्ट भएको भिडियो सेयर गर्दै विकेशलाल श्रेष्ठ फेसबुक वालमा लेख्नुहुन्छ— ‘नगर प्रहरी देख्नासाथ सामान पन्तरो बोकेर भाग्नुपर्ने बाध्यता किन, खै म बुझ्दिन ? के घरको चुल्हो बाल्नको निमित्त आफ्नो शहरभित्र ठेलागाडामा व्यवसाय सञ्चालन गर्नु अपराध हो र ?’ जफत गरिने क्रममा लगिएका धेरै सामानहरु बिच बाटोबाटै गायब हुने प्रचलन रहेकाले सरकारी तहबाटै भ्रष्टाचार हुने गरहेको श्रेष्ठले दावी गर्नुभयो ।

नगर प्रहरीको ज्यादती भएको भन्दै श्रेष्ठसहितले सामाजिक सञ्जालमा नगर प्रहरीको आलोचना गरेका छन् । स्कूले झोला बोकेकी ती बालिका देख्दा पनि बालिकासहित आमालाई नियन्त्रणमा लिएकाले नगर प्रहरीको आलोचना गरिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘यस्ता कार्यले बालिकाको मस्तिष्कमा नकारात्मक असर पर्ने भएकाले नगर प्रहरीहरुमा मानवता कता हराएछन् ? साँच्चै नै पीडामा भक्कानिएकी ती आमाले भनेकीजस्तै खै कहाँ गयो बालअधिकार ? खै कता हरायो महिलाको अधिकार ?’

यस्ता साधारण घटनाहरुमा त अधिकार नपाइने यो राज्यमा बलात्कार र महिला हिंसाजस्ता कुराहरु केबल भाषण, ऐन र नियमहरुमा नै सिमित रहेको श्रेष्ठले दावी गर्नुभयो । नेपालको कानुन दैवले जानुन्, अनि ठूलालाई चैन, सानालाई ऐन भन्ने ज्वलन्त उदाहरण भिडियो दृश्यले स्पष्ट गरेको उहाँको भनाइ छ । ‘कठै छोटा सरकार अनि घरघरमा सिंहदरबारका राजाहरु जय होस्’ भन्दै नगर प्रहरी तथा सरकारको कार्यको श्रेष्ठले आलोचना गर्नुभएको छ ।
वास्तवमा मानिसले सडकपेटीमा तथा सावारी साधनले सडकमा व्यवस्थित तरिकाले अवातजवात गर्न पाउनुपर्दछ । नगरको सौन्दर्यलाई नै अपच हुने गरी व्यवसाय गर्नु गलत हो । हरियाली, सफा र सुन्दर नगर स्थापित गर्न सबैले वातावरण स्वच्छ राख्नु आम नागरिकको कर्तव्य हो । स्वच्छ र सुन्दर शहर निर्माणका लागि कतिपय अभियन्ताहरु पनि सक्रिय भएको देख्न सकिन्छ ।

तर व्यवसायीहरुले व्यवसाय गर्न पाइयो भन्दैमा जताततै गर्नु र फोहोर जताततै फाल्न मिल्दैन । नीति नियमविपरीत यदि कसैले कार्य गर्र्छ भने कानुनको दायरामा ल्याउनु सरकारको दायित्व पनि हो । अधिकारको दुरुपयोग गर्दै कसैलाई नीति नियम लागू गराउने र कसैलाई लागू नगराउने उपमहानगरले गर्नुहुन्न । उपमहानगरमा करिब डेढ सय ठेलाहरु रहेका छन्, ती सबै ठेलाहरु व्यवस्थित तरिकाले सञ्चालन छ या छैन यकिन गर्नु उपमहानगरको दायित्व हो ।