Home शिक्षा निवृत्त शिक्षक समाजको महाधिवेशन स्थगित

निवृत्त शिक्षक समाजको महाधिवेशन स्थगित

हेटौंडाः नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको भर्चुअल बैठकले राष्ट्रिय महाधिवेशन पुनः स्थगित गरेको छ । देशभरका जिल्ला अध्यक्षहरुसहितको बैठले शनिबार महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय देशमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण महाधिवेशन स्थगित गरिएको समाजको केन्द्रीय प्रचार विभाग प्रमुुख अभिमन्यू गौतमले बताउनुभयो । केन्द्रीय अध्यक्ष चुडामणि शर्मा कट्टेलको अध्यक्षतामा भएको अन्तरक्रियात्मक बैठकले पूर्वसूचनाअनुसार माघ १५ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठकले वातावरण सहज भएपछि महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको गौतमले जानकारी दिनुभयो ।

केन्द्रीय महाधिवेशन स्थगित गरेसँगै भेलाले अधिवेशन हुन बाँकी जिल्लाहरुमा समेत हाललाई अधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । हालसम्म समाजको २३ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन भएको छ ।

नेपाल निवृत्त शिक्षक समाज सेवा निवृत्त शिक्षकहरुको सेवामूलक साझा संस्था भएकाले शिक्षकहरुका आवश्यक समस्याहरुको पहिचान गरी समाधान गर्न गराउन सबै प्रदेश तथा जिल्ला समितिहरुलाई केन्द्रले आग्रहसमेत गरेको छ । यसका लागि सुरुवाती कार्यक्रम अन्तर्गत् बागमती प्रदेशका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर विकास गर्न प्रदेशस्तरीय शिक्षकहरुको गोष्ठी गर्न आवश्यक तयारी भइरहेको समितिले जनाएको छ ।

समाजले आफ्नो विधान संशोधन गर्न गठन गरेको विधान मस्यौदा समितिले देशभरका जिल्ला समितिहरुबाट सुझाव संकलन गरी केन्द्रीय समितिमा पेश गरिसकेकाले अब हुने महाधिवेशनबाट उक्त विधान पारित हुनेसमेत जनाइएको छ ।

आयोजित भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल, केन्द्रीय उपाध्यक्ष महेन्द्रसिंह बम, केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा, प्रेमसिंह बोहोरा, केन्द्रीय महासचिव ईश्वरबहादुर श्रेष्ठ सहकोषाध्यक्ष खिमकान्त पराजुली, गण्डकी प्रदेश संयोजक तोयानाथ लामिछाने बागमती प्रदेश उपाध्यक्ष ऋषि बराल, केन्द्रीय सदस्य गेहेन्द्रराज बिष्ट, शंकर दिवस मजगैयालगायतले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।