हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार हेटौंडा बजारमा अनुगमन गरेको छ । मेडिकल (फार्मेसी), खाद्यान्न पसल, बैंक तथा सुपर मार्केटको अनुगमन गर्दै प्रशासनले दुई मेडिकललाई बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा खटिएको अनुगमन टोलीले हेटौंडा–४ स्थित पारिजातपथमा रहेको सफल फार्मेसी र केशरी मेडिकल हललाई बन्द गर्न आदेश दिएको छ । अनुगमनका क्रममा दुबै मेडिकलमा सम्बन्धित अनुमति (लाइसेन्स) प्राप्त व्यक्ति नभएर अरु नै व्यक्तिले औषधीलगायतका सामग्री बिक्री गरिरहेको भेटिएकाले मेडिकल बन्द गर्न आदेश दिइएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । नागरिकको स्वास्थ्यजस्तो जटिल विषयमा गैरजिम्मेवाररुपमा लाइसेन्स नभएका मानिसमात्र बसेर औषधी बिक्री गर्नु कानुुनविपरित भएको उहाँको भनाई छ ।

सम्बन्धित मेडिकलका अनुमतिप्राप्त सञ्चालकले ३ दिनभित्रमा आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएमा पुनः यसप्रकारको गल्ती नदोहोर्‍याउने शर्तमा मेडिकल सञ्चालन गर्न दिइने पनि उहाँले बताउनुभएको छ । मेडिकलमा अनुगमनकै क्रममा सर्जिकल मास्क ५ रुपैयाँमै बिक्रि गरेको पाइएपनि खरिद मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गर्ने गरेको पनि भेटिएको छ । मेडिकलले होलसेलबाट मास्क खरिद गर्दा १२० रुपैयाँ प्रतिबट्टा (५० पिस) खरिद गरेको बिल प्रस्तुत गर्दा एक पिसको २ रुपैयाँ ४० पैसा पर्न गएको देखिन्छ । होलसेलबाट खरिद गरेको सामान खुद्रा बिक्री गर्दा २० प्रतिशतभन्दा मूल्य बढाउन नपाउने नियम रहेको छ । तर एउटै मास्कमा १ सय प्रतिशतभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको हो ।

यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–४ स्कूलरोडमा रहेको हीरालाल घर संसार खाद्यान्न पसल, हेटौंडा–४ कै नारायणी मल तथा त्यहा“ रहेको सिद्धार्थ बैंक तथा भाटभटेनी सुपर मार्केटको पनि अनुगमन गरेको छ । पछिल्लो समय कोरोना संक्रमण फैलिरहेको अवस्थामा सरकारले भिडभाड नगर्न, मास्क, सेनिटाइजर तथा भौतिक दुरी कायम गर्न साथै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरेको भन्दै उक्त क्षेत्रमा भिडभाड हुने कुरालाई मध्यनजर गर्दै सो कुराहरु पालना गर्न र गराउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभएको छ ।