तारादेवी नेपाली गीत गायनमा बहुचर्चित नाउँ हो । थुप्रै मीठामीठा गीतहरु गाएर तारादेवीले नेपाली जनमानसमा आफ्नो गायन प्रतिभाको उत्कृष्ट परिचय दिएकी थिइन् । उनको त्यही परिचय नै नेपाली साङ्गीतिक आकाशमा गाँसियो । वास्तवमा तारादेवीले आफ्ना स्वरहरुबाट नेपाली भाषा मात्र प्रकट गरिन्, नेपाली जनजीवनको चित्रण मात्र प्रस्तुत गरिन् र नेपाली संस्कृति मात्र प्रदर्शन गरिन् । यिनले मीठो सुर, ताल र भाकामा स्वर नेपालका घरदैलामा पुर्याईन ।
कृष्णबहादुर कार्की तथा राधादेवीकी सुपुत्रीका रुपमा संवत् २००२ साल माघ २ गते काठमाण्डौको इद्रचोकमा तारादेवीको जन्म भएको थियो । आफ्नो तोतेबोलीमा नै तारादेवीले नेपाली भाषमा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षको उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यस बखत तारादेवीको बालस्वरले धेरैलाई चकित , मोहित र आफन्त बनाएको थियो । त्यसबेला यिनले रेडियो नेपालमा निशुल्क नै बालगीत गाउने गर्थिन् । केहि वर्षपछि यिनले एउटा गीत गाएको पाँच रुपैयाँ पाउन थालिन् । त्यसबेला गीत गाएर पारिश्रमिक भेट्ता यिनी अत्यन्तै खुशी हुन्थिन् । क्रमशःयिनको गायनको मूल्य पनि बढ्न थाल्यो र पारिश्रमिक पनि दोब्बर हुनथाल्यो । यिनले आफ्नो योग्यतालाई राम्ररी परिचित गराएपछि रेडियो नेपालमा तारादेवीलाई खरदारसरहको गायिकामा नियुक्त गरियो । र यिनको तलब महिनाको एक सय रुपैयाँ हुन थाल्यो । केहि समयपछि यी रेडियो नेपालको नायब सुब्बास्तरीय गायिकामा बढुवा पनि भइन् । त्यस पदमा रही यिनले लगातार तीनदशकसम्म रेडियो नेपालको सेवा गरिन् । त्यस बेलासम्ममा यिनले प्रवेशिका परीक्षा पनि पास गरिन् र सङ्गीतमा स्नातकको योग्यता हासिल गरिन् । आफ्ना सारा योग्यतालाई बढोत्तरी गरी तीसौँ वर्षसम्म सुब्बा भए पनि यिनले उत्साह, उमङ्ग र उल्लासले भरिएका गीतहरु नै गाइरहिन् ।
तारादेवीको स्वर नेपालको गाउँघर, पाखा पर्वत र सहर बजारमा गुनगुनाउने गर्छ । त्यतिमात्र होइन स्थानीय बासिन्दाले पनि उनको स्वरमा आफ्नो स्वर दिने गर्छन्, अर्थात् उनीहरु पनि तारादेवीले गाएका गीत गुनगुनाउने गर्छन् । वास्तवमा तारादेवीले आफ्ना स्वरहरु अर्पण गरेर नेपाली जनताबाट अत्यधिक सम्मान ग्रहण गरेकी थिइन् । उनी गीत गाउँदा मनबाट गाउँथिन् । त्यसैले पनि उनका गीतमा मान्छेको मर्म,खुसी र जिन्दगानी भेटिन्छ । नेपाली सङ्गीतको इतिहासलाई उन्नतिको शिखरमा पुर्याउने तारादेवी नेपाली गायनकी चम्किलो तारा भइन्, जुनतारा नेपाली आधुनिक गीत बोकेर देशदेशान्तरमा झुल्केको,टल्केको र चम्केको पाइन्थ्यो । वास्तवमा सम्पूर्ण नेपाली जातिकी प्रतिनिधि गायिकाको रुपमा तारादेवीले नेपाली गीतलाई संसारभरि बस्ने नेपालीका कानकानमा पुर्याएकी थिइन् ।
तारादेवीले सुब्बाका कुर्सीमा बसेर ३० वर्षसम्म रेडियो नेपालमा गीत गाइन् । त्यसपछि राजावीरेन्द्रको हुकुम प्रमाङगीद्धारा तारादेवी शाखा अधिकृतस्तरीय गायिका भइन् र पछि उनी उपसचिवस्तरीय गायिका भइन् । तर उनले त्यो पदको धेरै समयसम्म भोग गर्न पाइनन् । बाल्यकालदेखि गीत गाएर आफ्नो यौवन फुलाएको रेडियो नेपालले बहुदलीय प्रणाली भित्रिने बित्तिक्कै तारादेवीको मुटुलाई टपक्कै टिपेर फाल्यो । भनौँ रेडियो नेपालबाट तारादेवीलाई बिनाकसुर जागिरबाट हुत्याइयो । एउटी सरल ,सौम्य र इमान्दार गायिका तारादेवीमाज जसले जसरी अपमानको टीका लगाउन खोजे तापनि तारादेवीको योगदानको कदर सर्वत्र गरिएको छ । उनले गीतगाएर नै इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार पाइन्, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार,मैना पुरस्कार र नइ सुर सम्मानपनिपाइन्, त्यतिमात्रहोइन, श्री ५ वीरेन्द्रबाट २०५६ सालमातारादेवी सुप्रसिद्ध प्रबलगोरखादक्षिणबाहु,प्रथमबाट बिभूषितभइन् । उनले महेन्द्ररत्न आभूषण,गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐश्वर्य सेवा पदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक,पुरस्कार, सम्मान र अभिनन्दनहरु पनि पाएकी थिइन् ।
तारादेवीले वि.सं.२०२२ मा शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह गरिन् । उनका पति हवाई जहाजका चालक थिए । यीदुई पतिपत्नीबाट एउटी छोरी चारु त्था दुइटा छोरा शशि र रवि जन्मे । तारादेवीका जवान छोरा शशि २०५१ मा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर श्रेष्ठ पनि २०५५ मा हवाई दुर्घटनामा स्वर्गीय भए । चार वर्षको अन्तरालमा छोरा र पतिको मृत्युबाट मर्माहत भएकी तारादेवी क्षतविक्षतअवस्थामा दिन बिताउन पुगिन् । यस्ता डर लाग्दा घटनापछि उनको स्वर पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो ।
फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा , हिमालको काखमा छ मेरो सानो गाउँ,उकाली ओरालीहरुमा , शुभकामना भरि, सोचे जस्तो हुन्न जीवन, लगायतका सयौँ गीतहरुमा कालजयी आवाज दिएकी तारादेवीवि.सं. २०६२ साल माघ १२ गते यस संसारबाट बिदा भइन् ।