गाउँपालिका अध्यक्ष र बालसञ्जालका पदाधिकारीबीचको छलफलमा सहभागीहरु ।

हेटौंडाः मनहरी गाउँपालिका बालमैत्री सहजकर्ता पुनर्वहालीको माग माग गरिरहेका बालसञ्जालले आन्दोलन स्थगित भएको छ । शुक्रबार बालसञ्जालका पदाधिकारीहरुसँग गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले छलफल गर्नुभएपछि आन्दोलन स्थगित भएको हो ।

आन्दोलनरत मनहरी गाउँपालिका बालसञ्जालका अध्यक्ष आशिष बुढाथोकीले सहजकर्ता पुनर्वहालीको विषय कार्यपालिका बैठकमा छलफल गर्ने सहमतिपछि आन्दोलन फिर्ता गरिएको जानकारी दिनुभयो । सहजकर्ता पुनर्वहाली गर्ने या नगर्ने भन्ने विषय आगामी पुस १५ गतेसम्ममा बस्ने कार्यपालिकाको बैठकले निश्चित गर्ने सहमति भएपछि आन्दोलन रोकिएको गाउँपालिका अध्यक्ष उप्रेती बताउनुभएको छ । सहमतिसँगै बालसञ्जालले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र बालबालिका शाखामा गरेको तालाबन्दी खोलिएको छ ।

यस्तै रकमान्तर गरिएको बालमैत्री पुस्तकालय र बाल उद्यान निर्माणको बजेट पुनः कायम गरिने सहमति भएको बालसञ्जालका अध्यक्ष बुढाथोकीले बताउनुभयो । बालमैत्री पालिकाको घोषणालाई प्रभावकारी बनाउन सरोकारवाला पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने विषयमा पनि छलफल भएको गाउँपालिकाका अध्यक्ष उप्रेतीले बताउनुभएको छ ।