हेटौंडाः भारवहन क्षमता भन्दा बढी (ओभरलोड) ढुवानी गर्ने ९७ वटा टिपरलाई प्रहरीले कारवाही गरेको छ । प्रहरीले ४३ वटा टिरलाई जरिवाना गरेर ४३ हजार रुपैयाँ राजश्व असुली गरेको र जरिवाना तिर्न नगद रकम नहुनेको ५४ वटा टिपरको कागजपत्र लिएर पुर्जी काटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।
भारवहन क्षमता भन्दा बढी लोड ढुवानी गर्ने सवारीको हकमा पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यस्तै भारवहन भन्दा बढी लोड खसाल्न लगाएको पनि प्रहरी प्रवक्ता रिमालको भनाइ छ । प्रहरीले कारवाही गरेका सवै टिपर सिमेन्ट उद्योगका लागि खानीबाट ढुंगा ढुवानी गर्ने टिपरहरु हुन् ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, मनहरी–६ र हेटौंडा–१ स्थित तिर्तिरेधारामा सुरक्षाजाँच गर्ने क्रममा ओभरलोड बोक्ने ९७ वटा टिपरलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










