सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धाको मृत्यु भएको छ । सोमबार बिहान साढे ६ बजेको समयमा हेटौंडा–४ की ६७ वर्षीया बृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आइतबार राती ८ बजे अस्पतालमा भर्ना भएकी बृद्धाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. प्रशान्त बिडारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती बृद्धा अस्पतालमा धेरै पहिलेदेखि उपचार गराइरहने बिरामी हुन् । उनलाई दम, सुगर, प्रेसर तथा निमोनियाको समेत समस्या रहेको डा. बिडारीले बताउनुभयो । साथै ती महिलाले कोभिड बिरुद्धको खोप समेत लगाउनुभएको थिएन ।

अहिले हेटौंडा अस्पतालमा कोभिड संक्रमण देखिएका ४ जना बिरामीहरु उपचाररत छन् । केही बिरामी सोमबार बेलुकासम्म डिस्चार्ज भएर घर फर्किने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । दैनिकजसो ४ देखि ५ जना कोभिडका बिरामीहरु अस्पताल आएपनि २/३ दिनमा सामान्य भएर घर फर्किने गरेको डा. बिडारीको भनाई छ ।