हेटौंडाः कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न सोमबार एक सय ३० जनाको स्वाब संकलन गरिएको छ । ६५ जना महिला र ६५ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
संकलन गरिएको स्वाब कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर ल्याबमा पठाइएको उहाँले बताउनु भयो । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेसँगै स्वाब परीक्षण गराउनेको संख्यामा पनि वृद्धि भएको छ । स्वाब परीक्षणका लागि आउने अधिकांशमा कोरोना संक्रमणको लक्षण रहेको जनस्वास्थ्य निरीक्षक चौलागाई बताउनुहुन्छ ।