नेपाली साङ्गीतिक जगतमा जोकोहीले चिन्ने नाम हो नातिकाजी । थुप्रै कालजयी गीतहरुमा संगीत भरेका नातिकाजी साङ्गीतिक क्षेत्रको सुविख्यात नाम हो । आफ्नो सिङ्गो जीवन नेपाली संगीतको आराधनामा समर्पित गरेका नातिकाजीको जन्म वि.सं. १९८२ पुस ३ गते ललितपुरमा भएको थियो ।
बाल्यकालदेखि नै संगीतको सङ्गतमा परेका नातिकाजीले आफ्नो जीवनका अधिकांश समय हार्मोनियमका पर्दा चाल्दै बिताउनु भयो । पार्किन्सन रोगले थलिएर बस्दा समेत हरदम हार्मोनियममा भुलेर बस्ने नातिकाजी आफ्नो समयको कालजयी सङ्गीत सिर्जना गर्ने महान् संगीतकार हुन् । उनका संगीत कालजयी छन् । नेपाली संगीतको एउटा कालखण्डको मात्र नभई आउने समयको समेत प्रतिनिधिको रुपमा उनका संगीत रहनेछन् ।
सानै उमेरमा आमाबुबा गुमाएका नातिकाजी गुह्येश्वरीस्थित मामाघरमा हुर्किए । मामाघरका बाजे गुह्येश्वरी मन्दिरका पुजारी भएका कारण मन्दिरमा हुने भजनकीर्तनमा नातिकाजी सहभागी भइरहन्थे ।
पशुपति, गुह्येश्वरी लगायत अन्य मठमन्दिरमा हुने भजनकीर्तनमा बाजेको पछि लागेर सरिक हुन थालेदेखि नै नातिकाजीलाई संगीतप्रतिको मोह बढ्दै गएको थियो । भजनमा सरिक हुँदाहुँदै संगीतमा सक्रिय रुपमा सहभागी हुन थालेका नातिकाजीले वि.सं. २००४ सालतिर केहि साथीहरुसँग मिलेर ‘जीवन ज्योतिै नामक नाटक पनि बनाएका थिए । नातिकाजीले सात वर्षकै उमेरमा हार्मोनियम बजाएर गीत गाएका थिए । त्यसैले पनि भनिन्छ की “नातिकाजी संगीतकै लागि जन्मिएका थिए ।” दुखात्मक, सुखात्मक र राष्ट्रिय भावका गीतमा जीवन्त संगीत भर्न सक्ने नातिकाजी नेपाली साङ्गीतिक वाङ्मयका अमर स्रष्टा हुन् ।
आफ्नो घर, साथीभाई र भजनगृहमा गीत गाउँदा–गाउँदै नातिकाजी वि.सं. २००७ सालमा रेडियो नेपाल पुगे र त्यसको एक वर्षपछि वि.सं. २००८ वैशाख १५ गतेदेखि लागु हुनेगरी रेडियोमा नै जागिरको नियुक्तिपत्र पाए । उनले आफ्नै शब्द, संगीत र स्वरमा “जब प्रेम छुट्यो रोएर के गरुँ” बोलको गीत पहिलो पटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाएका थिए । त्यस्तै पुष्प नेपालीको शब्द र संगीतमा रहेको गीत ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’ नातिकाजीको स्वरमा रेकर्ड भएको पहिलो गीत हो । त्यतिबेला गीत रेकर्ड गर्न भारतको कलकत्ता जानुपर्ने भएकाले उक्त गीत रेकर्ड गर्नका लागि भारतसम्म जाने खर्च रु ६०० रुपैयाँ लिएर कलकत्तामा डिस्क रेकर्ड गर्न गए ।
सुरुवातका दिनहरुमा नातिकाजी आफैं गीत लेख्थे र गाउँथे पनि । उनका गीतहरु त्यतिबेला चर्चित पनि भएका थिए । लगभग २०० जति गीतहरुमा आफ्नो स्वर रेकर्ड गराएका नातिकाजीले वि.सं. २०१६/१७ सालदेखि भने गाउन छोडे । त्यसपछि उनी संगीतको सिर्जना गर्नतर्फ सक्रिय भए ।
नातिकाजीले नेपाली आधुनिक संगीतलाई एउटा उचाइमा पु¥याउन ठूलो योगदान दिएका छन् । उनको अविरल योगदानले उनी नेपाली संगीतका एउटा चिरस्मरणीय विम्व, साधक र साधन बन्न सफल छन् । त्यसैले उनलाई नेपाली साङ्गीतिक क्षेत्रका संगीत शिरोभूषण पनि भनिन्छ । नातिकाजीले औपचारिक रुपमा प्रवेशिका परीक्षा मात्र उत्तीर्ण गरे तर संगीतमा भने उनी स्नातक भए । उनी संगीतका सिङ्गो महाविद्यालय नै बन्न सफल भए । उनको योगदानले नेपाली गीतिआकाशमा नअस्ताउने तारा बन्न सफल भएका छन् नातिकाजी ।
वि.सं. २०२० सालदेखि २०४० सम्मको अवधिलाई नेपाली संगीतका लागि स्वर्णिम युग मानिन्छ । यसै स्वर्णिम युगका महत्वपूर्ण धरोहर हुन् नातिकाजी । यसै अवधिमा उनका उत्कृष्ट रचनाहरु पनि निस्किएका छन् । धर्मराज थापा, उस्ताद साहिँलाहरुको लोकलहरी, मित्रसेन थापाको लाहुरे लोकशैली र मास्टर रत्नदास प्रकाशको तत्कालिक हिन्दुस्तानी शैलीको सङ्गीतमा हिँडिरहेको नेपाली संगीतलाई परिमार्जन गरेर आज सबै नेपालीले गर्व गर्न लायकको आधुनिक संगीत भनेर चिनिने शैलीको संगीतको निर्माण गर्नमा नातिकाजीको ठूलो हात रहेको छ । नेपाली हामी रहौंला कहाँ, एउटा तारा आकाशमा, के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर, मर्न बरु गाह्रो हुन्न, यो नेपालीशिर उचाली… लगायतका लगभग ४ हजार जति गीतमा संगीत भरेका नातिकाजीका गीतहरु श्रोताका मन छुने खालका छन् । रेडियो नेपालमा मेसिनले झैं संगीतसिर्जना गरेका कारण उनलाई मेलोडी किंगका उपनामले समेत सम्मान गरिएको छ । उनको कर्मको गुण, परिमाण र योगदानको कदरस्वरुप उनलााई नेपाली संगीतका शंकराचार्य समेत भन्ने गरिन्छ ।
विभिन्न विभूषणबाट विभूषित नातिकाजी जीवनभर संगीतमा समर्पित भएवापत गोरखा दक्षिण वाहु प्रथम, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, नई सुर सम्मानलगायत विभिन्न साङ्गीतिक, साहित्यिक र सामाजिक संघसंस्थाबाट सम्मानित पनि भएका छन् ।
जीवनको उत्तरार्धमा नातिकाजी मुटुको रोगबाट थला परे । रोगले थला पारेको अवस्थामा पनि थुप्रै नेपाली गीतमा संगीत भरेर नेपाली गीत संगीतलाई अमूल्य गुन लगाउँदै वि.सं. २०६० साल कार्तिक १६ गते नेपाली साङ्गीतिक क्षितिजबाट सदा सदाका लागि अस्ताए ।